
रौतहट : ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २१ औं विश्व चेतना दिवसको अवसरमा सोमबार रौतहटमा विशेष कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा कार्यालयको आफ्नै सभाहलमा एक भव्य अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
सोमबार बिहान करिब ११:०० बजे सुरु भएको उक्त विशेष समारोहमा जिल्लाका विभिन्न स्थानबाट आमन्त्रित ३१ जना ज्येष्ठ नागरिकहरूलाई सहभागिता गराइएको थियो । कार्यक्रममा मुख्य अतिथिको आसनबाट बोल्दै जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले उपस्थित सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई खादा ओढाएर आदरपूर्वक सम्मान गरेका थिए ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा चेतना भन्दा माथि ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथामलाई प्रभावकारी बनाऔंलाई आत्मसात गर्दै आयोजित सो कार्यक्रममा ज्येष्ठ नागरिकहरूले भोग्नुपरिरहेका समसामयिक समस्या समाजमा उनीहरूको सुरक्षा र अधिकारका विषयमा गहन अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक सिताराम रिजालले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र जिउँदो इतिहास भएको उल्लेख गरे । उनले परिवार र समाजबाट ज्येष्ठ नागरिकमाथि हुने जुनसुकै प्रकारका दुर्व्यवहार, बेवास्ता वा हिंसाजन्य कार्यलाई रोक्न प्रहरी प्रशासन सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । केवल चेतना फैलाएर मात्र नपुग्ने भन्दै उनले अब व्यवहारिक रूपमै ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानका लागि ठोस कदम चाल्नुपर्ने र कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
अन्तरक्रियाका क्रममा सहभागी ज्येष्ठ नागरिकहरूले आफ्नो अनुभव र समाजमा भोग्नुपरेका चुनौतीहरूका बारेमा खुलेर धारणा राखेका थिए । उनीहरूले प्रहरी प्रशासनले यसरी आफ्नो सम्मान र सरोकारका विषयमा चासो देखाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा जिल्लाका स्थानीय भद्रभलाद्मी, सञ्चारकर्मी तथा प्रहरी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।