२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इजरायल रोजगारी : कामदार छनोट शंकाको घेरामा

ADV
२०८१ साउन २६ गते ०६:४०
इजरायल रोजगारी : कामदार छनोट शंकाको घेरामा

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा जानका लागि गरिएको भर्ना प्रक्रियामा सहभागीको नाम छनोट गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसमाथि छानबिन शुरु गरेको छ । त्यसका लागि मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

विभागले गत साउन २१ गते १ हजार ८ सय ६३ पुरूष र १ हजार ५ सय ९५ महिला गरी ३ हजार ४ सय ६१ जनाको नाम छनोट प्रक्रियामा रहेको  भन्दै इजरायली संस्था ‘पिबा’मा पठाएको थियो । त्यसको ४ दिनपछि मन्त्रालयले उपसचिव रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई अनियमितताबारे छानबिन र इजरायलमा कामदार पठाउने प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । इजरायल जाने कामदारको छनोट प्रक्रियामा अनियमितता भएको र कतिपय इन्स्टिच्युट सञ्चालकले वैदेशिक रोजगार विभागका अधिकृतहरूको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको र कतिपयले नक्कली कागजात पेस गरेको सार्वजनिक भएको थियो । त्यसपछि  विभागले छनोट प्रक्रिया योग्यतामा आधारित पूर्णतः निष्पक्ष हुने भन्दै पास गराउने वा इजरायल पठाउने भन्दै रकम माग गर्नेहरूका विरूद्ध विभाग वा श्रम मन्त्रालयको कल सेन्टरमा उजुरी दिन पनि आग्रह गरेको थियो । 

इजरायलले दुई हजार नेपाली कामदार लैजान सहमति जनाएअनुसार खुलाइएको आवेदनमा महिलाको भन्दा पुरूष कामदारको आवेदन बढी परेको छ । इजरायलले लैजाने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूष हुनेछन् ।

यसअघि भएको एक हजार पाँच सय नेपाली लैजाने सहमतिअनुसार आवेदन माग भएको अवस्थामा इजरायलले दुई हजारसम्म लैजाने सहमति जनाएको हो । यसअघि इजरायलबाट आठ सय नेपाली कामदारको माग आएको थियो । त्यसमा ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुने व्यवस्था थियो । अब सो संख्यामा त्यति नै बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली लैजाने सहमति भएको हो ।

इजरायलमा नेपाली केयरगिभरको तलब २ लाख १० हजार छ भने शुरूमा करार अवधि १ वर्षको भए पनि करार अवधि थप गर्दै ५ वर्षसम्म बस्न पाइने भएकाले खाडी तथा मलेसियाभन्दा इजरायल जान युवाहरूमा आकर्षण देखिएको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise