
दोहा : कतारको गृह मन्त्रालयले रेसिडेन्सी परमिट (कतार आइडी) रद्द भएपछि सम्बन्धित व्यक्तिले १४ दिनभित्र देश छोड्नुपर्ने जनाएको छ । यसअघि देश छोड्न ३० दिनको समय दिइने व्यवस्था भए पनि हाल उक्त अवधि घटाएर दुई सातामा सीमित गरिएको मन्त्रालयले स्पस्ट पारेको छ ।
गृह मन्त्रालयअन्तर्गत विमानस्थल राहदानी विभागका क्याप्टेन अली अहमद अली अल-कुवारीले सोमबार आयोजित 'सेफ ट्राभल्स' विषयक सेमिनारमा बोल्दै रेसिडेन्सी रद्द भएको मितिबाट १४ दिनभित्र कतार छोड्नुपर्ने जानकारी दिए । उनले भने, 'पहिले ३० दिनको समय दिइन्थ्यो, तर अहिले दुई हप्ता मात्र छ । यदि कसैले १४ दिनभन्दा बढी बसोबास गरेमा प्रतिदिन १० कतारी रियाल जरिवाना तिर्नुपर्ने हुन्छ ।' कार्यक्रममा विदेश यात्रा गर्नुअघि अपनाउनुपर्ने सावधानी र आवश्यक प्रक्रिया सम्बन्धी जानकारी दिइएको थियो ।
क्याप्टेन अल-कुवारीले भ्रमण (भिजिट) भिसामा कतार आएका व्यक्तिहरूलाई आफ्नो राहदानीमा लगाइएको प्रवेश स्टिकरमा उल्लेख गरिएको बसोबास अवधि अनिवार्य रूपमा जाँच गर्न आग्रह गरे । उनले भने, 'भिजिट भिसामा रहेका व्यक्तिहरूले आफ्नो राहदानीमा टाँसिएको स्टिकरमा उल्लेख गरिएको म्याद ध्यानपूर्वक हेर्नुपर्छ । तोकिएको समयभन्दा बढी बसेमा प्रतिदिन २०० कतारी रियाल जरिवाना लाग्छ । धेरै व्यक्तिले बस्न पाउने वास्तविक दिन संख्या ख्याल नगर्दा समस्यामा पर्ने गरेका छन् ।'
उनले कतारबाट विदेश यात्रा अघि मेट्रास एपमार्फत आफ्नो विवरण जाँच गर्न पनि सुझाव दिए । 'यदि ट्राफिक उल्लंघन, ओभरस्टे जरिवाना वा अन्य कुनै बाँकी शुल्क छ भने मेट्रासमार्फत अनलाइन भुक्तानी गरेर विमानस्थल जानुअघि सबै प्रक्रिया पूरा गर्न सकिन्छ,' उनले भने, 'यदि यात्रा प्रतिबन्ध लागेको छ भने सम्बन्धित निकायसँग सम्पर्क गरेर उक्त प्रतिबन्ध हटाउनुपर्छ ।' क्याप्टेन अल-कुवारीले अध्यागमन प्रक्रिया छिटो र सहज बनाउन ई-गेट सेवा प्रयोग गर्न पनि आग्रह गरे ।
उनका अनुसार विमानस्थल राहदानी विभागले आगमन र प्रस्थान टर्मिनलहरूमा गरी ७६ वटा ई-गेट सञ्चालनमा ल्याएको जानकारी दिदै यो सेवा नागरिक, आवासीय अनुमति प्राप्त व्यक्ति तथा आगन्तुक सबैका लागि निःशुल्क उपलब्ध रहेको बताए । 'ई-गेटमार्फत अध्यागमन प्रक्रिया पूरा गर्न जम्मा १० देखि १५ सेकेन्ड मात्र लाग्छ,' उनले भने, 'यसले समय बचत गर्नुका साथै अध्यागमन काउन्टरमा लामो लाइनमा बस्नुपर्ने झन्झट हटाउँछ ।'
अध्यागमन काउन्टर वा ई-गेट प्रयोग गर्दा यात्रुहरूले भुइँमा बनाइएका निर्देशन चिन्हहरू पालना गर्नुपर्ने पनि उनले बताए । यसो गर्दा प्रक्रिया अझ छिटो र व्यवस्थित हुने उनको भनाइ थियो । त्यसैगरी नयाँ राहदानी प्राप्त गरेपछि रेसिडेन्सी विवरण स्थानान्तरण गर्न आवश्यक परे मेट्राश एप प्रयोग गर्न सकिने जानकारी दिए । नवजात शिशुको हकमा भने सम्बन्धित अभिभावकले राहदानी कार्यालयमा गई जन्म दर्ता गराएर स्वीकृत प्रक्रिया अनुसार शिशुको भिसा बनाउनुपर्ने बताए ।
क्याप्टेन अल-कुवारीले कतारमा जन्मिएका नवजात शिशुले सम्बन्धित दूतावासबाट आवश्यक कागजात प्राप्त गरी बाबुको प्रायोजनमा रेसिडेन्सी परमिट लिनुपर्ने बताए । यदि रेसिडेन्सी परमिट बनाइएन भने शिशु पुनः कतार प्रवेश गर्न नसक्ने उनले स्पस्ट पारे l