
काठमाडौं : इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिस होमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डिजिओसँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । क्याम्पेन १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ ।
दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य क्याम्पेनको रहेको छ । यस साझेदारीअन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताले डिजिओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भौचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।
क्याम्पेनअन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डिजिओ फुटबल सिजनपास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः र्याफल ड्रमा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डिजिओ फुटबल सिजनपास जित्न सक्नेछन् । क्याम्पेन अवधिभर कुल २,५०० वटा डिजिओ फुटबल सिजन पास भौचर वितरण गरिने पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटा भौचर उपलब्ध गराउने इनड्राइभले जनाएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले भनिन्, ‘फुटबलमा मानिसलाई एक ठाउँमा जोड्ने विशेष क्षमता हुन्छ, र विश्वकप फुटबल विश्वभरका लाखौं दर्शकको ध्यान एकैसाथ केन्द्रित गर्ने केही सीमित विश्वव्यापी प्रतियोगितामध्ये एक हो । डिजिओसँगको साझेदारीमार्फत हामीले आफ्ना प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै उनीहरूलाई आफ्ना मनपर्ने खेल र अविस्मरणीय क्षणसँग जोडिराख्ने अभियान ल्याएका हौं ।’