
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामग्रीहरू उपलब्ध गराएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।