
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दुई देशबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्रान्सको प्रसिद्ध भर्सेल्स प्यालेसमा आयोजित जी-७ शिखर सम्मेलनको एक रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले यस १४ बुँदे 'समझदारी पत्र'मा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता भर्सेल्समा हस्ताक्षर भएलगत्तै लागू भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । यसअघि आइतबार अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले विद्युतीय माध्यमबाट यसमा हस्ताक्षर गरिसकेका थिए ।
यो सम्झौतापछि अब दुवै पक्ष आगामी ६० दिनभित्र एउटा अन्तिम र स्थायी शान्ति सम्झौतामा पुग्न सहमत भएका छन् । यो ६० दिनको अवधि आपसी सहमतिमा थप गर्न सकिने प्रावधान छ । राष्ट्रपति ट्रम्पले यसलाई कडा समयसीमा नभएको र छलफलका लागि बढी समय लाग्न सक्ने संकेत गरेका छन् ।
सम्झौताका मुख्य बुँदाहरू
सैन्य कारबाहीको अन्त्य : लेबनान लगायतका सबै मोर्चाहरूमा सैन्य कारबाही "तुरुन्त र स्थायी" रूपमा अन्त्य गरिने घोषणा गरिएको छ ।
स्ट्रेट अफ हर्मोजको पुनरागमन : विश्वकै प्रमुख व्यापारिक मार्ग 'स्ट्रेट अफ हर्मोज' व्यापारिक जहाजका लागि खुल्ला गरिनेछ । सुरुको ६० दिनसम्म इरानले जहाजहरूसँग कुनै शुल्क लिने छैन ।
परमाणु कार्यक्रममा प्रतिबन्ध : इरानले परमाणु हतियार प्राप्त नगर्ने वा नकिन्ने प्रतिबद्धता जनाएको छ । इरानसँग रहेको संवर्धित युरेनियमलाई अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको निगरानीमा 'डाउन-ब्लेन्डिङ' (थोरै हानिकारक बनाउने) गरिनेछ ।
प्रतिबन्धहरूको अन्त्य : इरानले आफ्ना प्रतिबद्धताहरू पालना गरेमा अमेरिकाले इरानमाथिका सबै आर्थिक प्रतिबन्धहरू हटाउनेछ ।
३०० अर्ब डलरको पुनर्निर्माण कोष : इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको कोष खडा गरिनेछ । यस कोषमा अमेरिकाले सिधै रकम जम्मा गर्नुपर्ने छैन, बरु क्षेत्रीय साझेदारहरूको सहयोग र अमेरिकी अनुमतिमा आयोजनाहरू अघि बढ्नेछन् ।
नाकाबन्दी फिर्ता : अमेरिकाले ३० दिनभित्र इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हटाउने सहमति गरेको छ ।
सम्झौतामा हस्ताक्षर भए तापनि दुवै पक्षबीच अविश्वासको वातावरण अझै विद्यमान छ । राष्ट्रपति ट्रम्पले इरानले सर्तहरू पालना नगरे अमेरिकाले 'बम्बारी गरेर तहसनहस बनाइदिने' चेतावनी दिएका छन् । उता इरानी वार्ताकार एवं सभामुख गालिबाफले अमेरिकालाई विश्वास गर्न नसकिने भन्दै इरानको 'औंला ट्रिगरमै रहेको' र शत्रुले तर्कको भाषा नबुझे पुन: शक्ति प्रयोग गर्ने बताएका छन् ।
यसैबीच, लेबनानमा इजरायली आक्रमण जारी रहेमा त्यसलाई सम्झौताको उल्लंघन मानिने इरानले चेतावनी दिएको छ । ह्वाइट हाउसका अनुसार यो सम्झौता 'कार्यसम्पादनमा आधारित' रहनेछ र इरानले आफ्ना वाचा पूरा गरे मात्र प्रतिबन्धहरूबाट राहत पाउनेछ ।