२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार ४ गते १८:३७
Shares
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

​रौतहट : रौतहटको गढिमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडक खण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्रयाक्टरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय वृद्धको ज्यान गएको हो ।

ncell

​इलाका प्रहरी कार्यालय समनपुरका अनुसार बिहीबार दिउँसो करिब १२:४५ बजेको समयमा समनपुरबाट सर्लाहीको हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादैं गरेको प्र.२–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट  ठक्कर दिएको थियो ।

​ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार गढिमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुर बस्ने अन्दाजी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको ढाड र अण्डकोषमा गम्भीर चोट लागेको तथा ​उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

​दुर्घटनालगत्तै घाइते महरालाई उद्धार गरी स्थानीय वेटर नेपाल हस्पिटल गरुडा पुर्‍याइएको थियो । त्यहाँ सामान्य उपचार गरिए पनि उनको अवस्था अत्यन्तै नाजुक भएपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए । तर, वीरगन्ज लैजाने क्रममा दिउँसो करिब १:४५ बजेको समयमा बाटोमै उनको मृत्यु भएको वेटर नेपाल हस्पिटलका चिकित्सकले पुष्टि गरेका छन् । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर रौतहट पठाइएको प्रहरीले जनाएको छ ।
​
चालक नियन्त्रणमा
​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक  मुना पासवानको कमाण्डमा र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको कमाण्डमा १५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनास्थल समनपुर प्रहरी कार्यालयबाट करिब ५०० मिटर उत्तरतर्फ पर्दछ ।
​
प्रहरीले दुर्घटनामा संलग्न ट्रयाक्टर र त्यसका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३९ वर्षीय राम किशुन यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक जाँचका क्रममा चालक यादवले मादक पदार्थ सेवन नगरेको र उनीसँग सवारी चालक अनुमति पत्र समेत रहेको पाइएको छ ।

​दुर्घटनापछी मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । दुर्घटनाग्रस्त ट्रयाक्टर हाल घटनास्थलमै रहेको र त्यसलाई इलाका प्रहरी कार्यालयमा ल्याउने पहल भइरहेको प्रहरीले जनाए । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक कानुनी अनुसन्धान अगाडि बढाएको छ ।

ताजा खबर

सम्बन्धित खबर