२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

छत्रदेवमा मनोसामाजिक परामर्श कार्यक्रम लागू

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असार ४ गते २२:०१
Shares
छत्रदेवमा मनोसामाजिक परामर्श कार्यक्रम लागू

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले द्वन्द्व र हिंसाबाट प्रभावित व्यक्तिहरूको मानसिक, सामाजिक तथा भावनात्मक पीडा सम्बोधन गर्ने उद्देश्यले ‘सङ्क्रमणकालीन न्यायका लागि मनोसामाजिक परामर्श र सामुदायिक एकीकरण कार्यक्रम’ सुरु गरेको छ ।

ncell

गाउँपालिकाको आयोजनामा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको प्राविधिक सहयोगमा कार्यक्रमसम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमले द्वन्द्वपीडित तथा मानसिक रूपमा प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै उनीहरूलाई समाजमा सम्मानपूर्वक पुनःस्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले संक्रमणकालीन न्याय केवल कानुनी प्रक्रिया मात्र नभई मानवीय संवेदनासँग जोडिएको विषय भएको उल्लेख गर्दै पीडित समुदायको मनोबल वृद्धि गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

त्यस्तै उपाध्यक्ष मनि पन्थीले मानसिक रूपमा प्रभावित नागरिकलाई परामर्श र सहयोग उपलब्ध गराएर समाजमा पुनःसक्रिय बनाउन कार्यक्रम महत्वपूर्ण हुने बताइन् । 

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले सम्झौता कार्यान्वयनसँगै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमले मानसिक स्वास्थ्य, सामाजिक मेलमिलाप तथा समुदाय पुनःएकीकरणमार्फत दीगो शान्ति र सामाजिक एकता प्रवर्धन गर्ने लक्ष्य लिएको छ । स्थानीय तहबाट संक्रमणकालीन न्यायलाई व्यवहारमा उतार्ने यो प्रयासलाई महत्वपूर्ण नमुना पहलका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर