
न्युयोर्क : विश्व रक्तदाता दिवसको अवसरमा किरात राई सोसाइटी अफ अमेरिका र ब्लड डोनर्स अफ अमेरिका (बिडिए) न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा क्वीन्स सेन्टर मलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए भने स्वास्थ्य परीक्षणका क्रममा ११ जना अयोग्य ठहरिएका थिए । कार्यक्रममा समुदायको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा डिस्ट्रिक्ट ३० असेम्बली सदस्यका उम्मेदवार सोमनाथ घिमिरेले रक्तदातालाई धन्यवाद दिँदै प्रोत्साहन गरेका थिए। यस्तै, शंकर पौडेलले आफ्नो ५४औं पटक रक्तदान गर्दै सहभागीलाई प्रेरित गरेका थिए भने कृष्ण आचार्यले पनि रक्तदान गरेका थिए ।
आयोजक संस्थाकी अध्यक्ष भारती राईले कार्यक्रम सफल भएको बताउँदै सम्पूर्ण रक्तदाता, स्वयंसेवक र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रमले न्यूयोर्कस्थित नेपाली समुदायमा मानवीय सेवाको भावना अझ बलियो बनाएको जनाइएको छ ।

