आज संविधान दिवस । विभिन्न उत्सवसहित देशभर संविधान दिवस मनाइदैछ । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदा दिएरै मनाइएको यो दिवसमा संविधानको रक्षार्थ योगदान र संविधानले दिएको उपलब्धीको महिमा गरिनेछ । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र यसको चिरायूको कामना स्वभाविक पूर्वानुमान हो । सरकारी तवर बाहेक राजनीतिक दलहरुले पनि विशेष महत्वका साथ यो दिवस मनाइनेछ । प्रमुख विपक्षी दल नेकपा एमाले संविधान दिवस भन्दा तीन दिन अगाडि नै वाकाथुनमा निस्किएको थियो । राजधानी उपत्यकामा अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा निस्किएको पदयात्रा बसन्तपुर पुगेर टुंगिएको थियो ।
अन्य दलहरुले पनि आफ्नो हिसाबले संविधान दिवस मनाउनेछ । संविधानलाई अपूर्ण मान्ने राजनीतिक तथा सामाजिक संस्थाहरुमा पनि बिस्तारै स्वीकारोक्ति बढेर गएको देखिन्छ । २०७२ मा संविधान जारी हुँदा मधेश केन्द्रीत दलहरुले संस्थागत रुपमै अवज्ञा गरेका थिए भने जनजातिहरुको पनि असहमति थियो । तर त्यही संविधान अनुसार भएको चुनावमा भाग लिइसकेका छन् भने सत्तामै सामेल भइसकेका छन् । यसको अर्थ संविधानले उनीहरुको माग सम्बोधन गरेको छ भन्ने होइन, बिमति हुन सक्छ । तर पनि संविधानको स्वीकारोक्ति आम भइसकेको छ, २०७२ कै संविधान बमोजिम मुलुक चलिरहेको छ । तसर्थ यो संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर थप परिस्कृत र मजबुत बनाउनु नै विकल्प हो ।
तर जसले संविधान जारी गरे, उनीहरुबाटै संविधानको अवज्ञा हुनु चाहिँ दुखद् हो । बितेका दुई वर्ष हामीले संविधानकै चिन्तामा खर्चनु परेको थियो । विशेषगरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको राजनीतिक शक्ति संघर्षकै कारण संविधानमाथि हमला भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी दुईदुई पटक प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए । त्यसैकारण शक्ति सन्तुलन खल्बलिन पुग्यो, सर्वोच्च अदालतका प्रधानन्यायाधीश (निलम्बित) विरुद्ध अहिले चलिरहेको महाअभियोग प्रकरण त्यसैको उपक्रम हो । यसमा अन्य नेताहरु पनि प्रत्यक्ष÷परोक्ष संलग्न हुन पुगे । यसले संविधानमाथि यदि कसैबाट खतरा छ भने त्यो राजनीतिक नेतृत्व नै हो भन्ने समेत आशंका गर्ने ठाउँ दिइएको छ । तर यो संविधान भत्कन थाले भने त्यसले लैजाने भनेको पञ्चायत, राजतन्त्र वा कुनै अधिनायकवादतिरै हो । तसर्थ, संविधानको रक्षार्थ लाग्दा नै हाम्रो पनि रक्षा हुनेछ । संविधान दिवसको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies