
दोहा, कतार : कतारको दोहास्थित नेपाली दूतावासको आयोजना तथा जीवन विज्ञान कतारको सहयोग र समन्वयमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस २०८३ भव्य रूपमा मनाइएको छ । कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि तथा योग प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा नेपाली दूतावासका सहचारी शोभाकर बरालले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१४ डिसेम्बर ११ मा प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि विश्वभर यसको महत्व झन् बढ्दै गएको उल्लेख गरे । त्यसपछि नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा जीवन विज्ञान कतारका सहसंयोजक गंगाराम फुयाँलले 'अन्तर्राष्ट्रिय योग दिवसको महत्व' विषयमा मन्तव्य राखेका थिए । उनले योग केवल शारीरिक व्यायाम मात्र नभई शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने जीवनशैली भएको बताए । नियमित योग अभ्यासले मानसिक शान्ति, सकारात्मक सोच, अनुशासन तथा स्वस्थ जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
त्यसपछि जीवन विज्ञान कतारकी योग प्रशिक्षक विद्या राईको नेतृत्वमा सहभागीहरूलाई योग अभ्यास गराइएको थियो । भोजपुर जिल्लाकी राईले लामो समयदेखि योग साधना गर्दै आएकी छन् । कार्यक्रममा विभिन्न आसन, प्राणायाम तथा ध्यान अभ्यास गराइएको थियो । सहभागीहरूले योग अभ्यासबाट उत्साहजनक अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली दूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले समापन मन्तव्य राख्दै योगले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले योगको वास्तविक अर्थ ‘जोड्नु’ रहेको उल्लेख गर्दै योगले आत्मा र परमात्माबिचको सम्बन्ध स्थापित गर्ने धारणा व्यक्त गरे । योग हाम्रो हिमालयन सभ्यता र संस्कृतिको महत्त्वपूर्ण उपज भएको बताउँदै राईले जीवन विज्ञान कतारप्रति विशेष धन्यवाद व्यक्त गर्दै संस्थाले नेपाली समुदायमा योग, ध्यान र सकारात्मक जीवनशैलीको प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।