२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

शितखोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा, स्थानीय उत्साहित

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असार ५ गते २१:३८
Shares
शितखोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा, स्थानीय उत्साहित

अर्घाखाँची : भौगोलिक विकटताका कारण वर्षौंदेखि कठिनाइ भोग्दै आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–२ फलाचौरका स्थानीय बासिन्दा अहिले शितखोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेपछि उत्साहित भएका छन् ।

ncell

लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त पुलको काम तीव्र गतिमा अघि बढिरहेको सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका प्रमुख गोपिराज पुनका अनुसार पुल निर्माण कार्य योजनाअनुसार प्रगति भइरहेको छ । निर्माण कार्यको प्राविधिक तथा व्यवस्थापकीय पक्ष मजबुत भएकाले तोकिएको समयभित्रै आयोजना सम्पन्न हुने सम्भावना उच्च रहेको उनले बताए ।

इन्जिनियर सुलभ भुसालका अनुसार वरिष्ठ निर्माण व्यवसायी भोजराज भुसालको प्रत्यक्ष रेखदेख र प्रभावकारी व्यवस्थापनका कारण निर्माण कार्य व्यवस्थित रूपमा अघि बढिरहेको छ । विगतमा सार्वजनिक निर्माणका कामहरू समयमै सम्पन्न नहुने समस्या देखिँदै आएको अवस्थामा शितखोला झोलुङ्गे पुल भने समयअगावै सम्पन्न गर्ने दिशामा अगाडि बढिरहेको उनले उल्लेख गरे । 

आयोजना निर्माण गर्ने कम्पनी आस्था÷सम्झना जेभीका अनुसार कामको गति अपेक्षाभन्दा राम्रो रहेको छ । निर्माण व्यवसायीले आवश्यक जनशक्ति, उपकरण र सामग्रीलाई नियमित रूपमा परिचालन गरेकाले काममा ढिलाइ नभएको बताइएको छ ।

२०८२ मंसिर १ गते ठेक्का सम्झौता भएको यस आयोजनाको कुल लागत करिब २ करोड ३८ लाख ८५ हजार ८ सय ७० रुपैयाँ रहेको छ । तर ठेक्का प्रतिस्पर्धामा आस्था÷सम्झना जेभीले १ करोड ६१ लाख ११ हजार ४ सय ८२ रुपैयाँमा निर्माणको जिम्मा पाएको हो। साथै सरकारले करिब ३२ लाख ४७ हजार ५ सय ४७ रुपैयाँ बराबरका जिन्सी सामग्रीहरू जस्तै केबल, लठ्ठा तथा अन्य संरचनात्मक सामग्री–उपलब्ध गराएको सडक पूर्वाधार कार्यालयले जनाएको छ ।

२१० मिटर लामो उक्त झोलुङ्गे पुलको मुख्य केबल टाँगिसकिएको छ । हाल फलामे डेक तथा जाली जडान गर्ने काम तीव्र रूपमा भइरहेको छ । प्राविधिक टोलीका अनुसार बाँकी काम पनि छिटो सम्पन्न गर्ने तयारी भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएपछि फलाचौर र पातल टोलबीच प्रत्यक्ष आवतजावत सम्भव हुने छ । हाल वर्षायाममा शितखोलामा आउने बाढीका कारण स्थानीय बासिन्दा, विशेष गरी स्कुले बालबालिका, बिरामी र वृद्धवृद्धाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

स्थानीय यादव घिमिरेका अनुसार पुल नहुँदा लामो समयदेखि दैनिक आवतजावतमा ठूलो समस्या थियो। विशेषगरी बाढी आएको समयमा खोलो पार गर्न नसक्दा जनजीवन प्रभावित हुने गरेको थियो । अब पुल बनेपछि त्यो समस्या सदाका लागि अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् । 

त्यस्तै स्थानीय नारायण थापाले पुल निर्माणपछि कृषि उपजको बजारिकरण, आन्तरिक व्यापार तथा स्वास्थ्य सेवासम्म पहुँच सहज हुने बताए । उनका अनुसार गाउँ दुईतर्फ जोडिएपछि आर्थिक गतिविधि समेत विस्तार हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले समयमै र गुणस्तरीय रूपमा निर्माण कार्य अघि बढिरहेको भन्दै निर्माण व्यवसायी तथा प्राविधिक टोलीको कामको प्रशंसा गरेका छन् । पुल निर्माणपछि यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर