२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

ट्रम्पले नचाहेका यी अमेरिकी ‘हिरो’

Nada
दिवाकर अधिकारी
२०८३ असार ६ गते ०६:२०
Shares
ट्रम्पले नचाहेका यी अमेरिकी ‘हिरो’

काठमाडौं : फिफा विश्वकप २०२६मा आयोजकमध्येको एक संयुक्त राज्य अमेरिकाले पाराग्वेलाई हराउँदै सानदार सुरुवात गर्दा मैदानमा एकजना खेलाडीको नाम सबैको मुखमा थियो– फोलोरिन बालोगुन । दुई उत्कृष्ट गोल गर्दै उनले आफूलाई विश्वकपको मञ्चमा प्रमाणित गरे ।

ncell

तर विडम्बना, जुन देशलाई उनले विश्वकप जिताउने सपना देखाइरहेका छन्, त्यही देशका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित आप्रवासन नीति लागू भएको भए बालोगुन आज अमेरिकी नागरिक नै हुने थिएनन् ।

बालोगुनको जन्मको कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन । उनका नाइजेरियाली आमाबुबा सन् २००१को गर्मीयाममा लन्डनबाट न्युयोर्क भ्रमणमा आएका थिए । भ्रमण सकेर फर्कने क्रममा विमानस्थलका कर्मचारीले बालोगुनकी आमा गर्भावस्थाको अन्तिम समय देखेर उनलाई विमान चढ्न अनुमति दिएनन् । नतिजास्वरूप, बालोगुनको जन्म बेलायतको राजधानी लन्डनमा हुनुको सट्टा ३ जुलाई २००१मा न्युयोर्कको ब्रुकलिनमा भयो ।

अमेरिकाको संविधानको १४औं संशोधनअनुसार, अमेरिकामा जन्मिएकै आधारमा उनले स्वतः अमेरिकी नागरिकता प्राप्त गरे । तर डोनाल्ड ट्रम्पको ‘कठोर’ आप्रवासन एजेन्डाले यही ‘बर्थराइट सिटिजनसिप’ (जन्मसिद्ध नागरिकता)लाई निसाना बनाएको छ ।

ट्रम्पको कार्यकारी आदेशले पर्यटक भिसामा आएका वा अवैध रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानलाई नागरिकता नदिने लक्ष्य राखेको छ । यदि यो नियम बालोगुनको जन्मका बेला लागू हुन्थ्यो भने, अमेरिकाले आज आफ्नो सबैभन्दा खतरनाक स्ट्राइकर गुमाउने थियो ।

एसी मिलानका मिडफिल्डर क्रिस्टियन पुलिसिकले बालोगुनको प्रशंसा गर्दै भनेका छन्, ‘यो केटा अचम्मको छ । उनी अहिले निकै घातक देखिएका छन् । हामी भाग्यमानी छौं कि उनी हाम्रो टोलीमा छन् ।’ अमेरिकी टोलीका पूर्वखेलाडी केनी कुपर पनि बालोगुनलाई ‘उच्च स्तरको प्रमाणित गोलकर्ता’ मान्छन्, जसले अमेरिकालाई ऐतिहासिक यात्रामा लैजान सक्छन् ।

आर्सनलको युवा एकेडेमीमा हुर्किएका २४ वर्षीय बालोगुनसँग इंग्ल्यान्ड वा नाइजेरियाको तर्फबाट खेल्ने विकल्प पनि थियो । उनले इंग्ल्यान्डको यु–२१ टोलीबाट खेल्दै १३ खेलमा ७ गोल समेत गरिसकेका थिए । तर, अमेरिकी फुटबल अधिकारीले उनलाई अमेरिकाको तर्फबाट खेल्न मनाउन ठुलो कसरत गरे । उनलाई फकाउन बास्केटबलका टिकट दिनेदेखि फ्लोरिडाको भ्रमण र न्युयोर्क यान्किजको प्रशिक्षण हेर्ने निम्तोसम्म दिइएको थियो ।

अन्ततः प्रशंसकको माया र अमेरिकी फुटबलको भविष्य देखेर उनले अमेरिका रोजे । बालोगुन भन्छन्, ‘मैले सही निर्णय लिएको हुँ भनेर म प्रशंसकलाई देखाइरहन चाहन्छु ।’

बालोगुनको मुद्दा फुटबलमा मात्र सीमित छैन । अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको मौलिक अर्थ र राष्ट्रपतिको कार्यकारी आदेशमाथि केही हप्ताभित्रै फैसला सुनाउँदै छ । रोयटर्सको सर्वेक्षण अनुसार ६२ प्रतिशत रिपब्लिकन जन्मसिद्ध नागरिकता अन्त्य गर्ने पक्षमा छन् भने मात्र ९ प्रतिशत डेमोक्रेट यसमा सहमत देखिन्छन् ।

कानुनविद्हरूका अनुसार यदि ट्रम्प प्रशासनले यो मुद्दा जितेमा यसले बालोगुनलगायत हजारौंको भविष्य अन्योल बनाउँछ । तर, हालको अनुदारवादी बाहुल्य रहेको सर्वोच्च अदालतले पनि ट्रम्पको पक्षमा फैसला गर्नेमा धेरैले आशंका व्यक्त गरेका छन् ।

अमेरिकी टोलीका धेरै खेलाडी बालोगुनजस्तै मिश्रित पहिचानका छन्, जसलाई ‘अमेरिकी मेल्टिङ पट’ (साझा पहिचान)को रूपमा हेरिन्छ । फुटबल प्रशंसक टोमी मार्कोस भन्छन्, ‘यही विविधताले नै यो टोलीलाई विशेष र साँच्चै अमेरिकी बनाउँछ ।’

मैदानबाहिर राजनीतिक बहस र कानुनी लडाइँ जारी रहे पनि, मैदानभित्र बालोगुन अमेरिकी फुटबलका नयाँ नायक बनिसकेका छन् । यदि उनले आफ्नो लय कायम राखे भने, उनी विश्वकपको ‘गोल्डेन बुट’ जित्ने दाबेदारसमेत बन्न सक्छन् । अहिले बालोगुन ती करोडौं आप्रवासी र तिनका सन्तानका प्रतीक बनेका छन्, जसले अमेरिकी सपनालाई मैदानमा साकार पारिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर