२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विश्वकर्मा समाज कतारद्वारा सम्मान कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ असार ६ गते २०:२६
Shares
विश्वकर्मा समाज कतारद्वारा सम्मान कार्यक्रम सम्पन्न

दोहा, कतार : विश्वकर्मा समाज कतारले 'कलाकार सम्मान तथा सृजना प्रतिभा प्रस्तुति कार्यक्रम–२०२६' भव्य रूपमा सम्पन्न गरेको छ। समाजले शुक्रवार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा कार्यक्रम आयोजना गरी कतारमा रहेर कला, संस्कृति तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूलाई सम्मान गरेको हो।

ncell

कार्यक्रममा कतारस्थित दलित तथा गैर दलित समुदायका नेपाली, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजले विभिन्न गतिविधि तथा कार्यक्रममार्फत कला क्षेत्रमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको जनाएको छ।

कार्यक्रममा कलाकारहरूको सृजनात्मक प्रतिभा प्रस्तुति, गायन तथा नृत्यका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमले नेपाली कला, संस्कृति तथा प्रतिभाको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

परियार मित्रता समाजका प्रमुख संरक्षक ठाकुरकुमार परियारले व्यक्तित्व र व्यवहार सुधारसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले जातीय सद्भाव, सामाजिक एकता र आपसी सम्मानलाई सुदृढ बनाउन सामाजिक सञ्जालमार्फत कुनै पनि समुदायप्रति अपमानजनक अभिव्यक्ति नदिन आग्रह गरे। उनले विगतमा कलाकार तथा पत्रकारहरूको श्रमको उचित मूल्याङ्कन नहुने अवस्था रहेको उल्लेख गर्दै उनीहरूको श्रम, योगदान र पेसागत सम्मानको कदर गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले दलित समुदायबिच एकता आवश्यक रहेको बताउँदै एकताबाटै हक, अधिकार र अवसर सुनिश्चित गर्न सहज हुने धारणा व्यक्त गरे। त्यसै गरी, कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले सुख दुःखका हरेक अवस्थामा समुदाय र समाजको आवश्यकता रहने भएकाले सबैलाई सामाजिक संस्थासँग आबद्ध हुन आग्रह गरेका थिए।

समाज कतारका अध्यक्ष दीपक विश्वकर्माले प्रवासको व्यस्त जीवनका बाबजुद कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले सम्मानित सबै कलाकारहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यका लागि शुभकामना व्यक्त गरे l कार्यक्रममा सञ्चार क्षेत्रमार्फत सहयोग पुर्‍याउँदै आएका पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।

ताजा खबर

सम्बन्धित खबर