
दोहा, कतार : रोल्पाली सेवा समाज कतार शाखाको चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम खुल्ला र बन्द गरी दुई चरणमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर १ जुंगार निवासी ईश्वरी केसी भण्डारी (चित्रा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कमल विष्ट, महिला उपाध्यक्षमा बसन्ती मल्ल, प्रथम उपाध्यक्षमा तिलक केसी तथा उपाध्यक्षमा भागिरथ खत्री चयन भएका छन् । त्यसै गरी महासचिवमा केसर खनाल, सचिवमा चैनसिंह घर्ती मगर, महिला सचिवमा प्रतीक्षा दसौँदी राना र सबिता भण्डारी, कोषाध्यक्षमा माया केसी तथा सह-कोषाध्यक्षमा कुलप्रसाद डाँगी चयन भएका छन् । सदस्यहरूमा हस्तमाली डाँगी, शिवराम खड्का, लीलामणि खड्का, केवल रोकाया, धनराज परियार, रेखीराम खड्का, सरस्वती खड्का, दिलमाया घर्ती मगर, गीता ओली, पहलमान घर्ती मगर, मनोज डाँगी, बेग बहादुर विष्ट तथा वीणा रोका मगर रहेका छन् । अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई रोल्पा जलजला समाज कतारका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक बलराम जैसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

अधिवेशनको खुला सत्र समाजका अध्यक्ष गोपाल डाँगीको सभाध्यक्षता तथा कतारका सफल व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l कार्यक्रमको विधिवत् उद्घाटनपछि समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल विष्टले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गरेका थिए भने समाजका महासचिव केशर खत्रीले कार्यक्रमको सहजीकरणसहित ३ वर्षे लामो कार्यकालको प्रतिवेदन पेस गरेका थिए l प्रतिवेदनमार्फत समाजले कतारमा रहेका रोल्पाली तथा नेपाली समुदायका हितमा सञ्चालन गरेका विभिन्न सामाजिक, मानवीय तथा सांस्कृतिक गतिविधिहरूबारे जानकारी गराइएको थियो । त्यसै गरी ईश्वरी भण्डारीले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
अधिवेशन तथा सांस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घसंस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूबिच एकता, सहकार्य र आपसी सद्भावलाई मजबुत बनाउन यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका थिए । वक्ताहरूले रोल्पा भन्ने बित्तिकै नेपालको राजनीतिक परिवर्तन, जनयुद्ध र ऐतिहासिक आन्दोलनको महत्त्वपूर्ण अध्याय बोकेको जिल्ला सम्झिने गरिएको उल्लेख गर्दै रोल्पालीहरूको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले समुदायको एकता, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा वक्ताहरूले कतारमा बढ्दो गर्मीका कारण श्रमिकहरूको स्वास्थ्य र सुरक्षाप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । कतारस्थित नेपाली संघ–संस्थाहरूले सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्री प्रकाशन गर्ने, श्रमिकमैत्री कार्यक्रम सञ्चालन गर्ने तथा गर्मीबाट बच्ने उपायबारे जानकारीमूलक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले नेपाली समुदायका श्रमिकहरूको हकहित, स्वास्थ्य सुरक्षा र जनचेतना अभिवृद्धिका लागि सबै संघ–संस्थाहरू एकजुट भएर काम गर्नुपर्ने आवश्यकता समेत औंल्याएका थिए ।

एनआरएनए एनसीसी कतारका पूर्व अध्यक्ष पदम गिरीले पछिल्लो समय एनआरएनएभित्र देखिएका केही विवादका सन्दर्भमा प्रस्ट पार्दै समितिको गठन कसैको आर्थिक अपचलन वा व्यक्तिगत छानबिनका लागि नभई कतारमा समानान्तर रूपमा रहेका दुई एनसीसीबीच एकता भएपछि आर्थिक, नैतिक, भौतिक सम्पत्ति तथा सचिवालय व्यवस्थापनलगायतका विषयलाई निष्पक्ष र सन्तुलित ढंगले व्यवस्थापन गर्न सुझाव दिने उद्देश्यले गरिएको बताए । एकतापछिका संरचना, जिम्मेवारी र व्यवस्थापनका विषयलाई स्पष्ट रूपमा कार्यसमितिलाई बुझाउन तथा संस्थालाई थप व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको उनको भनाइ थियो ।
पूर्व अध्यक्ष गिरीको भनाइप्रति सहमति जनाउँदै एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले कुनै पनि विषयमा छानबिन आवश्यक भए संस्थामा औपचारिक रूपमा लिखित निवेदन आउनुपर्ने र हालसम्म एनसीसी कतारमा त्यस्तो कुनै पत्र प्राप्त नभएको बताए । सामाजिक सञ्जालमा आएका टिप्पणीका आधारमा मात्र छानबिन प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले कुनै पनि छानबिन समिति गठन गर्नुपरे परिषद्को निर्णय आवश्यक पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र पुँजीको सही सदुपयोग हुन नसक्दा देशले अपेक्षित विकास गर्न नसकेको बताए । विदेशमा पसिना बगाइरहेका ३० लाखभन्दा बढी नेपालीहरूको भोगाइ र समस्यालाई नजिकबाट नबुझ्ने नेतृत्वले गर्दा गैरआवासीय नेपालीका मुद्दाहरू दशकौँदेखि ओझेलमा परेको गुनासो बढेको धारणा राखेका थिए l कर्मभूमि प्रति कृतज्ञ हुँदै आफूले आर्जन गरेको दक्षतालाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिँदै, अबका दिनमा रेमिट्यान्स पठाउने वर्गका रूपमा मात्र नभई देशको नीति निर्माण र विकासको निर्णायक शक्तिका रूपमा सङ्गठित हुनुपर्ने खाँचो देखिएको बताए ।

कार्यक्रममा नेपाली समुदायबिच एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्न पुर्याएको योगदानको कदर गर्दै एनआरएनए एनसीसी कतारका पूर्व अध्यक्ष गिरि तथा वर्तमान अध्यक्ष पन्थीलाई विशेष सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा प्रमुख अतिथिलाई सम्मान गरिएको थियो भने साङ्गीतिक प्रस्तुति दिएका विभिन्न कलाकारहरूलाई नगद पारिश्रमिक सहित सम्मान प्रदान गरिएको थियो । साथै, कतारमा रहेर नेपाली समुदायका गतिविधिहरूलाई निरन्तर रूपमा समाचारमार्फत उजागर गर्दै आएका विभिन्न सञ्चारकर्मी तथा पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।
अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष डाँगीले संस्थाको यात्रामा साथ र सहयोग गर्ने सबैलाई जीवनभर सम्झिरहने बताए । संस्थाको निरन्तर प्रगति र एकताका लागि सबैले आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारी को हुन् ?
विगत आठ वर्ष देखि कतारमा कार्यरत भण्डारी समाज कतार शाखाको स्थापना कालदेखि नै महिला सदस्यका रूपमा संस्थामा आबद्ध हुँदै आएकी भण्डारीले संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहसम्मको यात्रा तय गरेकी हुन् । उनी दोस्रो कार्यकालमा सहसचिव पदमा निर्वाचित भएर सक्रिय रूपमा काम गरिन् भने तेस्रो कार्यकालमा महिला उपाध्यक्ष तथा कलाकार संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिन्।

हाल अध्यक्ष पदमा निर्वाचित भण्डारी एक कुशल नृत्याङ्गना का रूपमा पनि परिचित छिन् । उनले दोहामा स्थापित विभिन्न सङ्घ–संस्थाका सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो कलात्मक प्रस्तुति दिँदै आएकी छिन। आफू अध्यक्ष पदमा निर्वाचित भए पनि कला र संस्कृतिप्रतिको आफ्नो यात्रालाई निरन्तरता दिने तथा समकक्षी सङ्घ–संस्थाहरूसँग सहकार्य गर्दै समाजलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा उनले संस्थागत एकता, सामाजिक सेवा र सांस्कृतिक गतिविधिलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने आफ्नो प्राथमिकता रहने बताइन्। भण्डारीले रोल्पाली समाजलाई कतारमा रहेका सम्पूर्ण रोल्पालीहरूको साझा संस्था तथा सामाजिक एकताको केन्द्रका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले समाजलाई अझ सशक्त, सक्रिय र सबैलाई समेट्ने संस्थाका रूपमा विकास गर्दै श्रमिक, दुःखमा परेका नेपाली तथा आवश्यकतामा रहेका समुदायका सदस्यहरूको साथमा सधैँ उभिने प्रतिबद्धता पनि व्यक्त गरिन्। आफ्नो मन्तव्यका क्रममा उनी केही भावुक बनेकी थिइन्। संस्थाप्रति देखाइएको विश्वास, माया र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै उनले सबैको साथ, सहयोग र सुझावका साथ आगामी कार्यकाल सफल बनाउने विश्वास व्यक्त गरिन्।