
काठमाडौं : सत्य संवाद मिडिया प्रा.लि.को दोस्रो साधारण सभा आज काठमाडौंस्थित एन्ड्र्युज क्याफेमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष किर्तन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी युवा व्यवसायी प्रेम पनेरु, होटल व्यवसायी चन्दन थापा, संस्थाका सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको थियो। सहभागीहरूले सत्य संवाद मिडियाले निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सञ्चार माध्यमका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।
प्रमुख अतिथि ऋषि धमलाले सत्य र विश्वसनीय पत्रकारिताको आवश्यकता झन् बढ्दै गएको वर्तमान अवस्थामा सत्य संवाद मिडियाले आफ्नो उद्देश्य अनुरूप निरन्तर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष किर्तन अधिकारीले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रगति र सुदृढीकरणका लागि सबैको साथ, सहयोग र सुझावको अपेक्षा रहेको बताए ।