
वाशिङ्टन डिसी : नेपाली दूतावास वाशिङ्टन डि.सी.को आयोजनामा ‘नेपाली डायस्पोरा र नेपालको समृद्धिः व्यापार, लगानी र नवप्रवर्तनका चुनौती र अवसरहरू’विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सानफ्रान्सिस्को, क्यालिफोर्नियाका काउन्सिल जनरल लक्ष्मण खनाल, टेक्सासको डालासस्थित काउन्सिल जनरल सुरेश अधिकारी तथा न्यूयोर्कका कन्सुलर जनरल दधिराम भण्डारीले नेपाल सरकारका तर्फबाट सूचना प्रविधि क्षेत्रका अवसर, नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था, अमेरिका–नेपालबीचको आयात–निर्यात सम्बन्ध, नेपाली डायस्पोराले गर्न सक्ने लगानी तथा नेपालको विकासमा पु¥याउन सक्ने योगदानबारे प्रस्तुति दिएका थिए ।
त्यसैगरी, डायस्पोरा नेपालीका तर्फबाट डा.सन्जिवन गौतमले नेपालमा क्यान्सर रोगीहरूका लागि सञ्चालन गरिरहेका उपचार सेवा तथा नवीन उपचार पद्धतिबारे जानकारी गराएका थिए । लोकनाथ तिवारीले अवकाशप्राप्त नेपालीहरूलाई नेपाल फर्कन आकर्षित गर्न आवश्यक नीतिगत पहलका विषयमा धारणा राखेका थिए भने मेदिनी अधिकारीले नेपालमा आफूले गर्दै आएको सामाजिक तथा विकाससम्बन्धी योगदानबारे चर्चा गरेकी थिइन् ।
अन्तरक्रियाका क्रममा सहभागीहरू सुदीप रायमाझी, डा. मदन उप्रेती, विष्णुकुमारी थापा, डिकबहादुर तामाङ, दीपेन लामा, सुरेश श्रेष्ठ, डा. दान पोखरेल, प्रतिमा भट्टराई, विवेक पौडेल, ददिन पाङ्डे, डा. ज्ञानी श्रेष्ठ, डा. टीकाजित राई, मोहनकुमार यादव, प्रेम संग्रौला, युवाकार राजकर्णिकार तथा सीता पाण्डेले विभिन्न जिज्ञासा, सुझाव र अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज आरणले यस्तो प्रकृतिको कार्यक्रम पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा विषयगत र विशिष्टीकृत कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । उनले नेपालीहरू राजदूतावास खोज्दै आउने मात्र नभई राजदूतावास स्वयं नेपाली समुदायसम्म पुग्ने लक्ष्यका साथ काम गरिरहेको बताए । साथै, विदेशमा रहेका नेपालीहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याउन सक्ने योगदानबारे पनि उनले चर्चा गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी स.र. पूर्णप्रसाद ढकालले सहभागीहरूलाई स्वागत गर्दै अनुभव, ज्ञान र निरन्तर संलग्नतामार्फत डायस्पोराले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास व्यक्त गरेका थिए ।
काउन्सेलर अरूणा घिसिङले सञ्चालन गरेको कार्यक्रममा वाशिङ्टन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भेनिया, नर्थ क्यारोलाइना लगायत विभिन्न राज्यमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, विज्ञ तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार, लगानी, ज्ञान हस्तान्तरण र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।