२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बागमती नदीमा फसेका ११ महिला र ३ बालिकाको उद्धार

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार ७ गते २०:५२
Shares
बागमती नदीमा फसेका ११ महिला र ३ बालिकाको उद्धार

रौतहट : रौतहटको दुर्गाभगवती गाउँपालिका स्थित बागमती नदीको बीच टापुमा फसेका १४ जना स्थानीयको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।

ncell

आइतबार दिउँसो अन्दाजी ३ ः४० बजेको समयमा दुर्गाभगवती गाउँपालिका  ३  मत्सरी घाटस्थित बागमती नदी पारि मुमको दाल टिपेर फर्कने क्रममा अचानक नदीमा पानीको बहाव बढेपछि ११ जना महिला तथा ३ जना बालिका गरी जम्मा १४ जना स्थानीयहरू नदीको बीच टापुमा फसेका थिए । 

नदीमा पानीको सतह बढेर पार गर्न नसकी नागरिकहरू अलपत्र परेको खबर प्राप्त हुनासाथ सुरक्षा निकायले तत्काल सक्रियता देखाएको थियो । 

टापुमा नागरिक फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहट तथा मातहतका कार्यालयहरूबाट सशस्त्र प्रहरी निरीक्षक  यज्ञ बहादुर योञ्जनको कमाण्डमा विपद् व्यवस्थापन टोलीसहित १७ जनाको विशेष उद्धार टोली रबर बोट लिएर घटनास्थलतर्फ प्रस्थान गरेको थियो । उद्धार टोलीले तीव्र बहावका बीच तदारुकताका साथ कार्य गर्दै बेलुका ५ बजेको समयमा रबर बोटमार्फत नदीको बीचमा फसेका सबै जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो । 

उद्धार गरिएका सबै ११ महिला र ३ बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सकुशल आ–आफ्नो घर पठाइएको सशस्त्र प्रहरीले जनाए ।

वर्षायाम सुरु भएसँगै रौतहटका नदीहरूमा जलसतह बढ्ने जोखिम उच्च हुने भएकाले नदी तटवर्ती क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र नदी पार गर्दा विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर