
दोहा कतार : कतारको आन्तरिक मन्त्रालयले रस लाफान इन्डस्ट्रियल सिटी स्थित 'बरजान लोकल ग्यास सप्लाई फ्यासिलिटी' मा आइतबार राती प्राविधिक दुर्घटनाका कारण विस्फोट र भीषण आगलागी भएको जनाएको छ । उक्त घटनामा परी हालसम्म १८ जना व्यक्तिहरू बेपत्ता भएका छन् भने उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।
मन्त्रालयले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जारी गरेको पछिल्लो विवरण अनुसार यस दुर्घटनामा घाइते हुनेहरूको कुल संख्या ५४ पुगेको जनाएको छ । घाइते र बेपत्ता भएकाहरू कुन देशका नागरिक हुन भन्ने कुरा खुलाइएको छैन । बेपत्ता भएकाहरूको खोजीका लागि कतारको आन्तरिक सुरक्षा बल सम्बद्ध 'कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुप' र नागरिक रक्षाका टोलीहरू पूर्ण रूपमा परिचालन गरिएका छन् ।
दुवै निकायको आपसी समन्वय र सहकार्यमा घटनास्थलमा सघन उद्धार तथा खोजी अभियान सञ्चालन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले घटनापछि कुनै पनि खतरनाक ग्यास वा अन्य पदार्थ चुहावट नभएको तथा सार्वजनिक सुरक्षामा कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।