
काठमाडौं : बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । १० डाउनिङ स्ट्रिटबाहिर सम्बोधन गर्दै स्टार्मरले लेबर पार्टीलाई आगामी आम चुनावमा लैजान आफू अब सही व्यक्ति नभएको पार्टीको ठहरलाई सद्भावका साथ स्वीकार गर्दै पद त्याग गर्ने निर्णय गरेको बताए ।
स्टार्मरको राजीनामा घोषणालगत्तै एन्डी बर्नहमले लेबर पार्टीको नेता र आगामी प्रधानमन्त्रीका रूपमा आफूलाई अगाडि सार्ने पुष्टि गरेका छन् । म्यानचेस्टरका मेयर समेत रहेका बर्नहमले देशले अहिले स्थिरता र गम्भीरता खोजेको बताएका छन् । पूर्व स्वास्थ्य सचिव वेस स्ट्रिटिङले पनि बर्नहमलाई आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरिसकेका छन् ।
स्टार्मरले नयाँ नेतृत्व चयन नभएसम्मका लागि आफू प्रधानमन्त्रीकै भूमिकामा रहने स्पष्ट पारेका छन् । लेबर पार्टीको नयाँ नेता चयनका लागि जुलाई ९ बाट नामांकन खुल्नेछ र सेप्टेम्बर १ मा संसदको बैठक बस्नुअघि नै यो प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ ।
सम्बोधनका क्रममा भावुक देखिएका स्टार्मरले आफ्नी पत्नी भिक्टोरिया र छोराछोरीलाई धन्यवाद दिए । उनले देशको ठुलो जिम्मेवारी सम्हालेपछि अब आफ्नो परिवारका लागि उत्कृष्ट बुबा र श्रीमान् बन्ने समय आएको बताए ।
स्टार्मरले आज बिहानै राजा चार्ल्सलाई टेलिफोन गरेर आफ्नो राजीनामाको बारेमा जानकारी गराएका थिए । उनले आफ्नो उत्तराधिकारी जो भए पनि उसलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।