
काठमाडौं : इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षीत 'याडिया किनेस' मोटरसाइकल नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले काठमाडौंमा 'किनेस अनुभव' कार्यक्रम आयोजना गर्दै यसलाई बजारमा ल्याएको हो ।
परम्परागत इलेक्ट्रिक सवारीसाधनको तुलनामा गति, प्रदर्शन र आकर्षक डिजाइनलाई प्राथमिकता दिएर निर्माण गरिएको यो मोटरसाइकल प्रिमियम अनुभव खोज्ने राइडरहरूलाई लक्षित गरिएको छ ।
याडिया किनेसमा ११ किलोवाट क्षमताको मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ । यसले तीव्र एक्सेलेरेसन सुनिश्चित गर्दै मात्र ३ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्न सक्छ । यस मोटरसाइकलको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसलाई २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने गरी बनाइएको छ, जसले कठिन सडकमा पनि भरपर्दो यात्राको अनुभव प्रदान गर्छ ।
यसमा ४.६ किलोवाट-घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीलाई सुरक्षित र टिकाउ बनाउन ४० भन्दा बढी सुरक्षा सुविधाहरू सहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली जडान गरिएको छ ।
यस मोटरसाइकलले आफ्नो उत्कृष्ट डिजाइनका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'रेड डट डिजाइन अवार्ड' समेत प्राप्त गरिसकेको छ ।
नेपाली बजारमा याडिया किनेसको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा कुजु नेपाल प्रालिका प्रतिनिधिले भने, "याडिया किनेस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो । हामी आशावादी छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ ।"