२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ट्राफिक सप्ताह २०८३ : सचेतनादेखि निःशुल्क स्वास्थ्य परीक्षण र लापसे कारबाहीसम्म

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार ९ गते २१:०८
Shares
ट्राफिक सप्ताह २०८३ : सचेतनादेखि निःशुल्क स्वास्थ्य परीक्षण र लापसे कारबाहीसम्म

रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८३ अन्तर्गतका साताव्यापी देशव्यापी जनचेतनामूलक कार्यक्रमहरू भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएका छन् । 

ncell

सुरक्षित र अनुशासित सडक संस्कृतिको विकास गर्ने उद्देश्यका साथ असार ३ गतेदेखि सुरु भएको यो अभियान मंगलबार विभिन्न समीक्षा कार्यक्रम र दीप प्रज्वलनसहित समापन गरिएको हो । 

गत असार ३ गते सदरमुकाम गौरमा आयोजित विशेष प्रभातफेरी कार्यक्रमबाट सप्ताहव्यापी अभियानको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह लगायत जिल्लास्थित विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रमुख, नागरिक समाज र सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो । 

अन्तरक्रिया, मेकानिकल परीक्षण र रक्तदान

अभियानलाई प्रभावकारी बनाउन साताभरि नै विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका थिए । जसअन्तर्गत असार ४ गते यातायात व्यवसायी, मजदुर तथा चालकहरूसँग सडक दुर्घटना न्यूनीकरणका उपाय र चुनौतीका विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

यसैगरी असार ५ गते यातायात व्यवस्था कार्यालय गौरसँगको प्राविधिक सहकार्यमा जिल्लाभर गुड्ने ७० वटा सवारी साधनहरूको निःशुल्क मेकानिकल परीक्षण गरिएको थियो । सवारी साधनको अवस्थाकै कारण हुन सक्ने दुर्घटना रोक्न यो परीक्षण कोशेढुंगा सावित भएको ट्राफिक प्रहरीले जनाए ।

अभियानकै क्रममा असार ६ गते आयोजित रक्तदान कार्यक्रममा १ जना सर्वसाधारण र १९ जना प्रहरी कर्मचारी गरी कुल २० जनाले रक्तदान गरेका थिए ।

सडकमा गुड्ने सवारी साधन मात्र नभई चालक पनि शारीरिक रूपमा स्वस्थ हुनुपर्छ भन्ने सन्देश दिँदै असार ८ गते ६९ जना चालकहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार चालकहरूको सुगर, रक्तचाप, आँखाको दृष्टि तथा मापसे र लापसे  परीक्षण गरिएको थियो । 

स्वास्थ्य परीक्षणकै क्रममा सोमबार १४ जना चालकको लागुऔषध सेवन जाँच गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । लागुऔषध सेवन गरी यात्रुको जिउज्यान जोखिममा पार्ने ती ३ जना चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको प्रहरी निरीक्षक मगरले जनाए ।

मंगलबार सञ्चारकर्मीहरूसँग आयोजित अन्तरक्रिया तथा समीक्षा कार्यक्रममा प्रहरी निरीक्षक मगरले साताव्यापी अभियानको कुल कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्। अभियान अवधिभर जिल्लाका विभिन्न स्थानमा देहायबमोजिमका सचेतनामूलक गतिविधिहरू जिल्लाका ८ वटा विद्यालयका ९ सय जना विद्यार्थीहरूलाई ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ, सडक सुरक्षित रूपमा पार गर्न ६ सय ५० जना पैदल यात्रुहरूलाई जेब्रा क्रसिङको सही प्रयोगबारे स्थलगत रूपमै सिकाइएको छ, ५ सय ५ जना चालकहरूलाई चालकसँग एक मिनेट कार्यक्रम मार्फत सडक अनुशासनबारे जानकारी गराइनुका साथै ७ सय ७० जना मोटरसाइकल चालकहरूलाई हेल्मेटको सही र सुरक्षित प्रयोगबारे प्रशिक्षण दिइएको छ, सडक प्रयोगकर्ताहरूलाई सचेत गराउन १ हजार ४ सय ४० वटा ट्राफिक सचेतनामूलक स्टिकर र १ हजार ६ सय ५ थान पर्चा–पम्पलेट वितरण गरिएको छ ।
अभियान अवधिभर जिल्लाका प्रमुख चोक तथा सडक खण्डहरूमा जनचेतनामूलक जिंगल निरन्तर प्रसारण गरिएको थियो । 

मंगलबार साँझ रौतहटका प्रमुख चोकहरूमा दीप प्रज्वलन गरी सप्ताहव्यापी कार्यक्रमको औपचारिक समापन गरिने जानकारी दिँदै प्रहरी निरीक्षक मगरले समग्र अभियान पूर्ण रूपमा सफल भएको बताए । सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई आम नागरिकको पनि साझा सरोकारको विषय भएको उल्लेख गर्दै उनले ट्राफिक सप्ताह कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रौतहटबासी, सञ्चारकर्मी, यातायात व्यवसायी र स्थानीय प्रशासनप्रति विशेष धन्यवाद तथा खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित खबर