काठमाडौंः पछिल्लो समय बैंकहरुले मुद्दती निक्षेपमा नै १३.१३ प्रतिशतसम्म ब्याजदर पु¥याएका छन् । असोज महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती बचत खातामा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहँदा कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । तर सरकारको लगानी रहेको ३ वटा बैंकहरुले भने निक्षेपको ब्याजदर भन्दापनि सस्तोमा कर्जा प्रवाह गरेका छन् ।
कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले अन्य निजी बैंकहरुको तुलनामा सस्तो दरमा कर्जा लगानी गरिरहेका छन् । यी बैंकहरुले अहिले पनि १० देखि १३ प्रतिशतको ब्याजदरमा नै कर्जा उपलब्ध गराइरहेका छन् । यी तीन बैंक मध्ये कृषि विकास बैंकले आफूले खरिद गर्ने (निक्षेपमा प्रदान गर्ने ब्याजदर) भन्दा पनि सस्तो दरमा कर्जा प्रवाह गरिरहेको पाइएको छ । जसमा उक्त बैंकले कर्जातर्फ अधिकतम १३.९ प्रतिशत मात्र ब्याजदर लिने घोषणा गरेको हो ।
कृषि विकास बैंकको आधार दर (बेस रेट) ८.९० प्रतिशत छ । सो दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज तय गर्ने बैंकले जनाएको छ । बैंकको सो नीति अनुसार कर्जाको अधिकतम व्याजदर १३.९ प्रतिशत हुन आउँछ । कृषिजन्य क्षेत्रमा गरिने लगानीमा बैंकले बेस रेटमा अधिकतम २ देखि ३ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जनाएको छ । त्यस्तै, व्यक्तिगत कर्जा, घर कर्जा, गाडी कर्जा जस्ता हायर पर्चेज कर्जाहरुमा अधिकतम ५ प्रतिशत प्रिमियम जोड्ने बैंकले जनाएको छ । हाल कृषि विकास बैंकको बेस रेट ८.९० प्रतिशत र स्प्रेड रेट ४.३२ प्रतिशत रहेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले आफूले खरिद गर्ने निक्षेपको ब्याजदर भन्दा पनि सस्तोमा कर्जा लगानी गर्ने जनाएको छ । असोज महिनाका लागि निक्षेपमा १३.१३ प्रतिशत (रेमिट्यान्स मुद्दती बचत खातामा) ब्याजदर प्रदान गरेको बैंकले कर्जामा अधिकतम १२.८६ प्रतिशत मात्र ब्याजदर लिने जनाएको हो । यद्यपि, चालु पुँजी कर्जा सम्बन्धि धितो कर्जामा भने बेस रेटमा ३.२५ प्रतिशतदेखि ५.५० प्रतिशतले प्रिमियम थपेर १३.३६ प्रतिशत लिन सक्ने बताएको छ । यसो गर्दा बैंकको निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर झण्डै समान हुने देखिन्छ । बैंकले व्यवसायिक, कृषि, लगायत विविध कर्जामा बैंकले बेस रेटमा २ देखि ५ प्रतिशत प्रिमियम जोड्ने उल्लेख गरेको छ ।
नेपाल बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती बचतमा १३.१३ प्रतिशत ब्याजदर प्रदान गरेको छ । तर, बैंकले कर्जा लगानी गर्दा भने आफ्नो आधारदर (बेस रेट) मा १ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म मात्रै प्रिमियम जोड्ने जनाएको छ । उक्त बैंकको बेसरेट ९.९० प्रतिशत छ भने स्प्रेड रेट ४.०८ प्रतिशत रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies