
अर्घाखाँची : जंगबहादुर कुँवर राणाको २०९औँ जन्मजयन्ती अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित ऐतिहासिक लामपाटी दरबार (मथुराधाम) मा भव्य तथा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
श्री गोपेश्वर पीठको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले लामपाटी दरबारको संरक्षण, ऐतिहासिक पहिचानको पुनस्र्थापना, गुठी जग्गा विवाद समाधान तथा यस क्षेत्रको पर्यटकीय विकासलाई मुख्य प्राथमिकताका रूपमा उठाएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले नेपालको इतिहाससँग प्रत्यक्ष जोडिएको लामपाटी दरबारको संरक्षण अब केवल स्थानीय चासोको विषय नभई राष्ट्रिय महत्वको विषय भएकाले यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताएका छन् । उनले जंगबहादुर राणाको जन्मस्थलसँग सम्बन्धित ऐतिहासिक तथ्यहरूको थप खोज, अनुसन्धान तथा दस्तावेजीकरण गर्न विशेषज्ञ टोली परिचालन गर्न आवश्यक रहेको बताए ।
मन्त्री घिमिरेले अर्घाखाँची पछिल्लो समय धार्मिक तथा आन्तरिक पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकसित हुँदै गएको बताउँदै अब जिल्लालाई समग्र पर्यटन सर्किटमा जोड्ने गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख विशाल खनालले जिल्लामा सुशासन कायम राख्न प्रशासन पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सार्वजनिक वा गुठी जग्गा अतिक्रमण भएको प्रमाणित भएमा कानुन अनुसार कारबाही अगाडि बढाइने बताए ।
स्थानीय तहको तर्फबाट बोल्दै सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष ऋषप अधिकारीले लामपाटी क्षेत्रको विकास तथा संरक्षणका लागि वडा कार्यालय निरन्तर सक्रिय रहेको जानकारी दिए । उनले प्रदेश सरकारसँग यस क्षेत्रको ऐतिहासिक महत्व झल्किने सूचना बोर्ड, पर्यटकीय संकेत तथा संरचनागत विकासका योजना तत्काल अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले अर्घाखाँची जिल्लालाई पर्यटकीय हब बनाउन लामपाटी दरबारको पनि महत्वपूर्ण भूमिका रहने भन्दै यसको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताए । उनले लामो समयदेखि बल्झिरहेको गुठी जग्गा विवादप्रति गम्भीर प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
यता जग्गा अतिक्रमणको आरोप खेपिरहेका स्थानीय बासिन्दा शोभाखर भुसालले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै मालपोत कार्यालयबाट कानुनी प्रक्रिया पूरा गरी उक्त जग्गाको लालपुर्जा प्राप्त भइसकेकाले अनावश्यक विवाद सिर्जना गर्नु उचित नभएको प्रतिक्रिया जनाए ।
कार्यक्रममा इतिहासविद् लेखबहादुर टण्डनले जंगबहादुर राणाको राजनीतिक जीवन, नेपालको पहिलो लिखित कानुन ‘मुलुकी ऐन १९१०’, बेलायत भ्रमण तथा तत्कालीन नेपालको सामाजिक–राजनीतिक संरचनाबारे विस्तृत ऐतिहासिक विश्लेषण प्रस्तुत गरेका थिए ।
इतिहासको प्रसंगमा उल्लेख गरिएअनुसार तत्कालीन राजा रणबहादुर शाहका विश्वासपात्र काजी बालनरसिंह कुँवरलाई वि.सं. १८६९ मा जुम्लाको सिंजा विद्रोह नियन्त्रणका लागि पठाइएको थियो । लामो समय जुम्लामा बसाइँका क्रममा उनले आफ्नी कान्छी श्रीमती गणेश कुमारीलाई पनि सँगै राखेका थिए । गर्भवती भएपछि परम्परा अनुसार माइत फर्काउने क्रममा अर्घाखाँचीको मथुराधाम आइपुग्दा वि.सं. १८७४ साल असार ७ गते दिउँसो जंगबहादुर कुँवर (राणा) को जन्म भएको ऐतिहासिक तथ्य कार्यक्रममा स्मरण गरिएको थियो ।
मथुरा गोपेश्वर पीठका अध्यक्ष ढुडिराज अधिकारीको अध्यक्षता तथा नारायण भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँपालिका–५ का पूर्व वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, नेकपा एमालेका नेता प्रेम गैरे, नेपाली कांग्रेसकी महिला नेत्री शान्ता अर्याल लगायत विभिन्न राजनीतिक दल, सामाजिक संस्था, बुद्धिजीवी, इतिहासप्रेमी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।