
दोहा कतार : नेपाली महिला समाज, कतारको १५औं स्थापना दिवस तथा छैटौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी शुक्रबार मुन्तजास्थित होलिडे भिल्ला होटेलको इमराल्ड हलमा दिउँसो २ बजेदेखि हुने अधिवेशनलाई सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको संस्थाले जनाएको छ ।
सन् २०१२ मा स्थापना भएको समाजले कतारमा रहेका नेपाली महिला तथा श्रमिकहरूको हकहित, संरक्षण, सचेतना र समस्याको समाधानका लागि निरन्तर काम गर्दै आएको छ । श्रमिक अधिकार, सामाजिक सुरक्षा कोष, श्रमिक आइपिओ, बैंकिङ तथा बचत–लगानीसम्बन्धी जानकारी प्रवाह गर्नुका साथै संकटका समयमा मानवीय तथा आर्थिक सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।
अधिवेशनको अवसरमा समाजले सदस्यता अभियानलाई समेत तीव्रता दिएको छ । सदस्यहरूका लागि विशेष छुटसहितको सदस्यता कार्ड वितरण गरिने भएको छ, जसमार्फत विभिन्न रेस्टुरेन्ट, तालिम केन्द्र, ब्युटी सैलुन तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूमा १० देखि २० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सकिनेछ ।
समाजकी अध्यक्ष माया केसीले अधिवेशनलाई संस्थाको भाबी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसर भएको बताउँदै कतारमा रहेका सम्पूर्ण नेपाली महिला तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेकी छन् । सदस्यता लिन इच्छुक महिलाहरूले नाम, क्युआइडी नम्बर, फोन नम्बर, रक्त समूह, नेपालस्थित ठेगाना र पासपोर्ट साइजको फोटो उपलब्ध गराउनुपर्नेछ ।