काठमाडौं : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले उक्त मुलुकमा कार्यरत नेपाली कामदारको हितलाई उच्च महत्व दिने बताएका छन् । कार्यभार सम्हाल्न शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका राजदूत पौडेलले तलब, सेवा सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने बताए ।
उनले भने, ‘श्रम स्वीकृतिको अवधि सकिएर कानूनी हैसियत गुमाई अलेखवद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई समेत प्राथमिकता दिने छु ।’ मलेसियाको श्रम बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई नेपाली कामदार गएमा तलब र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए ।
सन् २०१८ मा भएको श्रम सम्झौता कार्यान्वयनको पक्षलाई उच्च प्राथमिकता दिने भन्दै नवनियुक्त राजदूत पौडेलले दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई पनि आफ्नो प्राथमिकतामा रहेकोे बताए ।
मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने पनि उनले बताए ।
पौडेल गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने बताए ।
नेपाल–मलेसियाबीच जनस्तरको सम्बन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनको भनाइ छ । साढे दुई लाख भन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियामा हाल दैनिक २ हजारको संख्यामा जान थालेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies