
दोहा, कतार : विश्वस्तरीय नेपाली गायन र नृत्य रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ मा उत्कृष्ट प्रदर्शन गर्दै सेकेन्ड रनर अप (तेस्रो स्थान) हासिल गर्न सफल गायिका जुनु प्रसाईंको सम्मानमा कतारमा विशेष सोलो म्युजिकल नाइट आयोजना हुने भएको छ ।
कार्यक्रम आगामी शुक्रवार साँझ ६ बजेबाट प्लाजा मल स्थित जिम्बु थकाली रेस्टुरेन्टमा आयोजना गरिने भएको हो । यस कार्यक्रममार्फत प्रसाईंको सांगीतिक यात्रा, फाइनलसम्मको संघर्ष र उपलब्धिलाई विशेष रूपमा सम्मान गरिने आयोजकहरूले जनाएका छन् ।
कतारमा वैदेशिक रोजगारीको सिलसिलामा रहेकी प्रसाईंले रोजगारीसँगै आफ्नो सांगीतिक यात्रालाई निरन्तर अघि बढाउँदै आएकी थिइन् । २३ देशका नेपाली मूलका प्रतिभाबीच प्रतिस्पर्धा भएको प्रतिष्ठित रियालिटी सोमा उनले कतार अडिसनमार्फत छनोट भई फाइनलसम्म पुगेर तेस्रो स्थान हासिल गरेकी हुन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी तथा हाल झापा स्थायी घर भएकी प्रसाईँको यो उपलब्धिलाई कतारस्थित नेपाली समुदायले गर्वका रूपमा लिएको छ ।
प्रसाईंको यो सफलतासँगै कतारमा हुने ‘सोलो म्युजिकल नाइट’ कार्यक्रम नेपाली समुदायका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कतार शाखाकी सक्रिय सदस्य समेत रहेकी प्रसाईंको सांगीतिक यात्रामा प्रतिष्ठान कतार शाखाले सुरुदेखि नै विशेष भूमिका निर्वाह गरेको थियो ।
प्रतियोगिताको विभिन्न चरणमा प्रतिष्ठानका पदाधिकारी, सदस्यहरू तथा कतारस्थित नेपाली समुदायले उल्लेखनीय साथ, सहयोग र हौसला प्रदान गरेका थिए । जुनुको सफलतालाई कतारस्थित नेपाली समुदायले आफ्नो साझा उपलब्धिका रूपमा लिएको छ ।