२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

'लागुऔषध नियन्त्रणमा एकीकृत प्रयास आवश्यक'

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार १२ गते १७:४६
Shares
'लागुऔषध नियन्त्रणमा एकीकृत प्रयास आवश्यक'

रौतहट : ​रौतहटमा दिनानुदिन बढ्दै गएको लागुऔषध दुर्व्यसन र यसको अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह र आम समुदाय एकै ठाउँमा उभिनु आवश्यक देखिएको सरोकारवालाहरूले औंल्याएका छन् । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसरमा रौतहटमा आयोजित विशेष सचेतना कार्यक्रमका सहभागीहरूले लागुऔषध नियन्त्रण प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको सन्देश दिएका छन् ।

ncell

​समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त दिवसका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले लागुऔषध दुर्व्यसनले विशेषगरी युवा पुस्ता र समग्र देशको भविष्यमाथि नै गम्भीर असर पारिरहेको उल्लेख गरे । यसको नियन्त्रणका लागि समुदाय, अभिभावक, विद्यालय तथा सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने, ,प्रहरीको एकल प्रयास वा कारबाहीले मात्र यो लडाइँ जित्न असम्भव छ, यसमा समाजको प्रत्येक नागरिकको उत्तिकै भूमिका रहन्छ ।'

​कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले विद्यालय र कलेज तहका विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषध विरुद्धको सचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । समयमै युवा वर्गलाई यसको गम्भीर असरबारे सचेत गराउन नसके भविष्यमा यो समस्या अझ विकराल र जटिल बन्न सक्ने उनको भनाइ थियो ।

​यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका प्रहरी उपरीक्षक रामहरी अधिकारीले आफ्नै वरपर हुने शंकास्पद गतिविधि प्रति नागरिक सचेत रहनुपर्ने औंल्याए । उनले लागुऔषध प्रयोग वा ओसारपसार जस्ता शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्दै समुदायको सक्रिय सहयोगबिनाको कुनै पनि नियन्त्रण अभियान प्रभावकारी हुन नसक्ने स्पष्ट पारे ।

​कार्यक्रममा सहभागी अन्य वक्ताहरूले लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई केवल अपराधी वा दोषीको नजरले मात्र नहेरी उनीहरूलाई बिरामीका रूपमा स्विकार्नुपर्ने धारणा राखेका थिए । दुर्व्यसनीलाई सही मार्गमा फर्काउन उचित उपचार, परामर्श र पुनर्स्थापनाको आवश्यकता पर्ने भएकाले उनीहरूको पुनर्स्थापनाका लागि परिवार, समुदाय र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको औंल्याइएको थियो ।

​नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तहका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी सबैले लागुऔषधमुक्त समाज निर्माणका लागि सामूहिक र साझा प्रतिबद्धता समेत जनाए ।

सम्बन्धित खबर