
रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा बढ्दो आत्महत्या र मानसिक तनावका घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित जनचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल परिवार विकास केन्द्र मिठुअवाको व्यवस्थापनमा गाउँपालिकाका विभिन्न वडाहरूमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बढ्दो सामाजिक जटिलता, मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनाप्रति समुदायलाई संवेदनशील बनाउन गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा सडक नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
सडक नाटकमार्फत समाजमा विद्यमान पारिवारिक कलह, मानसिक, विचलन र त्यसले निम्त्याउने गम्भीर दुर्घटनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो । नाटक हेर्ने क्रममा स्थानीयवासीहरू निकै भावुक बनेका थिए । वडा नं. ४ की स्थानीय सरिता देवीले नाटकमा प्रस्तुत गरिएका सामाजिक घटनाहरू आफ्नै समाज र वरपरको परिवेशसँग मेल खाएको भन्दै यसले आफूलाई मर्माहत बनाएको र समाजका लागि ठूलो पाठ सिकाएको बताइन् ।
गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले समाजमा मानसिक स्वास्थ्य र आत्महत्या जस्ता गम्भीर विषयमा खुलेर कुरा गर्ने वातावरण नहुँदा घटनाहरू बढ्दै गएको उल्लेख गर्दै बेलैमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । आत्महत्या क्षणिक आवेग वा गम्भीर मानसिक तनावको परिणाम हो जसलाई समयमै पहिचान र परामर्श दिन सके रोक्न सकिन्छ अध्यक्ष सिंहले भन्ने स्थानीय सरकार नागरिकको जीवन रक्षा र सामाजिक रूपान्तरणका लागि सधैं प्रतिबद्ध छ त्यसैले हामीले यस्ता सचेतनामूलक अभियानलाई प्राथमिकता दिएका हौं । अध्यक्ष सिंहको यस नवीन र संवेदनशील पहलको स्थानीय स्तरमा निकै प्रशंसा भइरहेको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनका क्रममा वडा नं. १ का वडा अध्यक्ष प्रधुमन चौधरी वडा नं. २ का वडा अध्यक्ष सुरेश चौधरी र वडा नं. ४ का वडा अध्यक्ष रामानन्द प्रसाद यादवले नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा राखे ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिष झा, प्रशासन शाखा प्रमुख राकेश साह, योजना प्रमुख दिपेन्द्र महतो र अनुगमन प्रमुख लखिन्द्र ठाकुरलगायतका कर्मचारीहरूले पनि कार्यक्रमको प्रभावकारितामाथि प्रकाश पारेका थिए । नेपाल परिवार विकास केन्द्र मिठुअवाका प्रतिनिधिहरूका अनुसार आत्महत्या रोकथामका लागि केवल सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै यसका लागि परिवार, समाज र स्थानीय तहबीच बलियो सहकार्य र सञ्चार आवश्यक रहेको सन्देश प्रवाह गर्नु नै कार्यक्रमको मुख्य सफलता रहेको छ । आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरूमा पनि यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने गाउँपालिका कार्यालयले जनाए ।