२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अब स्टार होटलमा पनि मौलिक नेपाली पेय ‘मोही’ खान पाइने

Nada
२०८३ असार १४ गते १३:०५
Shares
अब स्टार होटलमा पनि मौलिक नेपाली पेय ‘मोही’ खान पाइने

काठमाडौं : नेपाली मौलिक पेय पदार्थ मोही (बटरमिल्क) लाई प्रवर्धन गर्ने अभियानले नयाँ उपलब्धि हासिल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई मोही (बटरमिल्क) उपलब्ध गराउन सुरु गरेका छन् ।

ncell

यसअघि नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले अब स्टार होटलहरूमा पनि मोही उपलब्ध गराउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता कार्यान्वयन भएपछि नेपाल डेरी एसोसिएसनले उनीप्रति आभार व्यक्त गरेको छ ।

यस अवसरमा उपाध्यक्ष श्रेष्ठले नेपालको मौलिक उत्पादन, संस्कृति र परम्परालाई विश्वसामु चिनाउने उद्देश्यले होटलमा मोही समावेश गरिएको बताए । उनले भने, 'नेपालको मौलिक परिकार र पेय पदार्थ विदेशी पाहुनासम्म पुर्‍याउन सके पर्यटन प्रवर्धनमा ठुलो योगदान पुग्छ । यहाँको संस्कृति, परम्परा र स्थानीय स्वादको अनुभव लिएर फर्किएका पर्यटकहरूले विदेशमा पनि नेपालको प्रचारप्रसार गर्नेछन् । यसले पर्यटन, कृषि र स्वदेशी उत्पादन तीनै क्षेत्रलाई फाइदा पुर्‍याउँछ ।'

उनले नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही प्रवर्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यको हैसियतले पनि यस अभियानलाई साथ दिनु आफूहरूको कर्तव्य भएको उल्लेख गरे । साथै, मोही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरे ।

यसै विषयमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले आफूहरू अत्यन्तै खुसी र भावुक भएको प्रतिक्रिया दिए । उनले भने, "हामीले एउटा सानो अभियानका रूपमा सुरु गरेको मोही प्रवर्धन आज स्टार होटलसम्म पुग्नु हाम्रा लागि ठुलो उपलब्धि हो । होलिडे इन एक्सप्रेस होटल नक्सालले यसलाई व्यावसायिक रूपमा अपनाउनु नेपाली मौलिक उत्पादनप्रतिको सम्मान र स्वदेशी अभियानको सफलता हो । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा होलिडे इन एक्सप्रेस होटल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।"

नेपाल डेरी एसोसिएसनका अनुसार अब नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा देशभरका अन्य होटल, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रका प्रतिष्ठानहरूमा पनि मोहीलाई नेपाली मौलिक पेयका रूपमा समावेश गराउने अभियानलाई थप व्यापक बनाइनेछ ।

एसोसिएसनले स्वदेशी उत्पादनको प्रवर्धन, दुग्ध किसानको आय वृद्धि, पर्यटन विकास तथा नेपाली मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मोही अभियानलाई निरन्तर अगाडि बढाइने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर