
रौतहट : गृहमन्त्री सुधन गुरुङले पर्सा र बारा जिल्लाका संवेदनशील सीमा नाकामा भइरहेको तस्करीको अवस्थाबारे जानकारी लिन भेष बदलेर आकस्मिक अनुगमन गरेका छन् । कुनै पूर्वसूचना नदिई निजी सवारीसाधनमार्फत सीमा क्षेत्रमा पुगेका उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै तस्करीको वास्तविक अवस्था बुझ्ने प्रयास गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गुरुङ शुक्रबार राति त्यहाँबाट प्रस्थान गरी बाराको पथलैया पुगेका थिए । औपचारिक सुरक्षा स्कर्टिङबिना पूर्व–पश्चिम राजमार्ग हुँदै पिलुवा, बडहर्वा र सिमरा क्षेत्रको भ्रमण गरेका उनले रात्रिकालीन गतिविधि तथा सुरक्षा अवस्थाबारे स्थानीयसँग अनौपचारिक छलफल गरेका थिए ।
शनिबार बिहान वीरगञ्ज पुगेका मन्त्री गुरुङले तस्करीका लागि संवेदनशील मानिने अलौं र पनटोक्का लगायतका सहायक सीमा नाकाको स्थलगत निरीक्षण गरे । भेष बदलेर पुगेका उनले सर्वसाधारण तथा स्थानीय व्यापारीसँग साइकल, मोटरसाइकल र टाउकोमा बोकेर हुने अवैध सामान ओसारपसारबारे जानकारी लिएका थिए ।
स्थानीय बासिन्दाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मिलेमतोमा तस्करी भइरहेको आरोप मन्त्रीसमक्ष राखेका थिए । उनीहरूले सीमा निगरानीका लागि जडान गरिएका सिसिटिभी क्यामेरा प्रभावकारी रूपमा सञ्चालन नगरिएको र तिनको कमजोर प्रयोगकै कारण तस्करहरूले अवैध कारोबार गरिरहेको दाबी गरेका छन् ।
अनुगमनका क्रममा स्थानीय सुरेन्द्र साहले भारततर्फ चारवटा मोटरसाइकलमा तस्करीका सामान लोड गरेर तयारी अवस्थामा राखिएको जानकारी गृहमन्त्रीलाई दिएका थिए । अनुगमन टोली फर्किएलगत्तै ती सामान नेपाल भित्र्याउने तयारी रहेको सूचना पाएपछि मन्त्री गुरुङले आफ्नो टोलीका एक सदस्यलाई तत्काल घटनास्थलमा पठाउनुका साथै सुरक्षा निकायलाई वास्तविक अवस्था बुझेर आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए ।
सीमा सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही सुरक्षाकर्मी तस्करहरूसँग मिलेमतोमा रहेको आरोप स्थानीयले लगाए पनि यस विषयमा सम्बन्धित सुरक्षा निकायले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
गृहमन्त्रीको अप्रत्याशित र गोप्य सीमा अनुगमनपछि सीमा सुरक्षाको प्रभावकारिता, तस्करी नियन्त्रण तथा सुरक्षा संयन्त्रको भूमिकाबारे पुनः बहस सुरु भएको छ । गृह मन्त्रालयले अब सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कस्ता कदम चाल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।