
दोहा, कतार : बागमती प्रदेश समन्वय परिषद् कतारले २३औं राष्ट्रिय धान दिवस दही–चिउरा खुवाउँदै तथा नेपाली मौलिक कला, संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
शुक्रबार सनैयास्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष कविन्द्र कडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाली राष्ट्रिय गान, दीप प्रज्ज्वलन तथा ब्यानर अनावरणसँगै औपचारिक रूपमा सुरु भएको थियो । कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगै बंगलादेश, श्रीलंका, फिलिपिन्स र भारतका विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
परिषद्की महिला उपाध्यक्ष ममता रानाभाट खत्रीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकार गंगा बिसी र जमुना बिसीले स्वागत नृत्य प्रस्तुत गरेका थिए। परिषद्का वरिष्ठ उपाध्यक्ष रामहरि चौलागाईंले बागमती प्रदेशको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।

परिषद्का महासचिव गंगाबहादुर सुनुवारले सञ्चालन गरेको कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति र अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए। अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय धान दिवसको महत्वमाथि विशेष चर्चा गरिएको थियो। साथै कलाकारहरूले असारे तथा रोपाइँसँग सम्बन्धित गीत–संगीत र नेपाली मौलिक सांस्कृतिक प्रस्तुतिहरूमार्फत दर्शकको मन जितेका थिए ।
प्रमुख अतिथि कृष्ण पन्थीले राष्ट्रिय धान दिवस नेपालीहरूको कृषि संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै विदेशमा पनि यसको संरक्षण र प्रवर्द्धनका लागि परिषद्ले थालेको अभियान प्रशंसनीय रहेको बताए । उनले यस्ता कार्यक्रमले मनोरञ्जनसँगै नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै सभापति कविन्द्र कडेलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।
सो अवसरमा परिषद्का निवर्तमान कार्यसमिति, विभिन्न अन्तर्राष्ट्रिय समुदायका प्रमुख तथा प्रतिनिधि, कलाकार र सञ्चारकर्मीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा श्रमिक सुरक्षासम्बन्धी सचेतनामूलक (सेफ्टी अवेयरनेस) प्रस्तुति पनि समावेश गरिएको थियो ।