
दोहा कतार : साउदी अरेबियाको पूर्वी प्रान्तस्थित रास तनुरा क्षेत्रमा आइतबार बिहान साउदी अराम्कोद्वारा सञ्चालित एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १४ जनाको मृत्यु भएको छ।
साउदी प्रेस एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६:०० बजे भएको उक्त दुर्घटनामा हेलिकोप्टरमा रहेका सबै १४ जना साउदी नागरिकको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरू सबै साउदी अराम्कोसँग सम्बन्धित कर्मचारी रहेको जनाइएको छ । यद्यपि उनीहरूको व्यक्तिगत परिचय भने सार्वजनिक गरिएको छैन। साउदी ऊर्जा मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। मन्त्रालयले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै सर्वशक्तिमान भगवानसंग दिवंगत आत्माहरूलाई क्षमा, दया तथा उच्च स्थान प्रदान गरून् भन्ने प्रार्थना गरेको जनाएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र त्यसबारे सम्बन्धित निकायहरूले विस्तृत तथा उच्चस्तरीय अनुसन्धान सुरु गरिसकेको मन्त्रालयले जनाएको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा दुर्घटनाको वास्तविक कारण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।रास तनुरा साउदी अरेबियाको सबैभन्दा महत्वपूर्ण तेल प्रशोधन तथा निर्यात केन्द्रमध्ये एक हो।
यहाँ रहेको साउदी अराम्कोको पूर्वाधार विश्वकै प्रमुख ऊर्जा संरचनामध्ये पर्दछ। दुर्घटनापछि सम्बन्धित निकायहरूले सुरक्षा व्यवस्थालाई थप कडा बनाएका छन् भने हेलिकोप्टर दुर्घटनाले तेल उत्पादन वा निर्यातमा कुनै प्रभाव नपरेको बताईएको छ।
यस घटनाले साउदी अरेबियाको ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी तथा आम नागरिकलाई स्तब्ध बनाएको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान सम्पन्न भएपछि थप जानकारी सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।