आजदेखि निर्वाचन आचारसंहिता लागू हुदैछ । निर्वाचन आयोगले आचारसंहिता कडाइका कार्यान्वयन गर्ने जानकारी दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जारी आचारसंहिता पालना गर्न राजनीतिक दल, सरकार र सम्बन्धित सवैमा आग्रह गरेको छ । आयोगको संहिताप्रति सरकारकै नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले बक्तव्य जारी गरेरै आयोगको संहिताप्रति आपत्ति जनाएको हो । आयोगले जारी गरेको बक्तव्यमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुले चुनावी प्रचारमा हिड्न नपाउने व्यवस्था गरेको छ । निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट लगायत कपडा उत्पादन र प्रयोगमा रोक, प्रचारमा हिड्न नहुने उमेर समूह, प्रचार सामग्रीमा शिष्टतादेखि सामाजिक सञ्जालमा प्रयुक्त भाषामा समेत ध्यान दिएको छ ।
आचारसंहिताका अन्य विषय यसअघि पनि थिए । तर यसपटक प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रचारमा रोक लगाइएपछि कांग्रेसले आपत्ति जनाएको हो । यसको अर्थ प्रधानमन्त्री र मन्त्रीहरुले प्रचार गर्न पाउनुपर्छ भन्ने देखिन्छ । आयोगले यसरी प्रचारमा हिड्नुलाई सत्ताको दुरुपयोग हुने ठहर गरेको छ । आयोगको ठहरप्रति कांग्रेससहित सत्तारुढले आपत्ति जनाउनुलाई स्वभाविक नै मान्न सकिन्छ । किनकि चुनाव भनेकै जित्नु हो । जित्नलाई सत्ताको उपयोग गर्ने प्रयास यसअघिका चुनावमा पनि देखिएकै हो । तर आयोगले ल्याएको प्रावधानले भने अन्ततः दलहरुलाई नै लाभ पुग्ने देखिन्छ । किनकि बढी खर्च हुने प्रवृत्तिको असर उम्मेद्वारहरुलाई नै पर्ने हो ।
चुनावमा राजनीतिक दलकै उम्मेद्वार धेरै हुने र मुलुकको नेतृत्व पनि दलहरुबाटै हुने भएकाले खर्च कम गर्दाको लाभ पनि दलले नै पाउने हो । फजुल खर्च रोक्ने, सत्ताको दुरुपयोग नगर्ने, प्रचारमा शिष्टता अपनाउने कुरा लोकतन्त्रसँग समेत जोडिएको छ । प्रणाली र संविधानप्रति असन्तुष्टले उठाउने कुरा अलग हो । तर चुनावमा भाग लिने र अहिलेकै व्यवस्थाप्रति विश्वास राख्नेहरुका निम्ति आयोगले राखेको प्रावधान कार्यान्वयन गर्नु नै हितकर हुने देखिन्छ । मतदाता प्रभावित नभइ विवेक प्रयोग गर्ने बातावरण पनि निर्वाचन आचारसंहिताको प्रयोगले सहयोग पुग्छ । अर्थात् आयोगले उठाएको प्रावधानको सम्बन्ध लोकतन्त्र र संविधानसँग जोडिएको छ । तसर्थ संहिताप्रति आपत्ति जनाउने नभएर कार्यान्वयनमा जोड दिनु उचित हुन्छ । बाहुबल नभएर विवेकमा विश्वास गर्नु लोकतन्त्रको अर्थ हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies