कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : हरेक चुनावमा जस्तै आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि दलहरु घोषणापत्र निर्माणको तयारीमा जुटेका छन् । सत्तागठबन्धनभित्र रहेको दल नेपाली कांग्रेसले छुट्टै घोषणापत्रको तयारी गर्देछ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने तयारी गरेका छन् । त्यस्तै, नेकपा एमाले, लोसपा, राप्रपा लगायतका दलहरु घोषणापत्र निर्माणको आन्तरिक तयारीम जुटिसकेका छन् । स्वतन्त्र उम्मेद्वारहरु पनि आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने तयारीमै छन् । राष्ट्रिय दलदेखि स्वतन्त्र उम्मेद्वार समेतले चुनावी एजेण्डाको चाङ ल्याएपनि जनताले भने उनीहरुको योजना पत्याउनै छाडिसकेका छन् ।
हरेक पटकको चुनावमा विकास, परिवर्तन र समृद्धिका एजेण्डा ल्याएपनि कसैले केही काम नगरेको भन्दै उनीहरु रुष्ट बनेका हुन् र्। हामी त यो पटक भोट हाल्नै नजाने, जति भोट हालेपनि हामीलाई केही हुने हैन, सधैँको सास्तीमात्रै!’ ठेलामा मकै बेच्दै गरेकी काभ्रेकी सरस्वती तामाङले भनिन् । उनले कोही पार्टीप्रति पनि विश्वास नरहेको बताएकी छिन् ।
वि.सं. २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचन पछि अहिलेसम्म दलहरुले आठौँ घोषणापत्र जारी गर्दैछन् । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा ४१ सदस्यीय कार्यदल बनाएको छ । पार्टीका ६ सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य र बुद्धजीवीहरु सम्मिलित व्यक्तिहरुले घोषणापत्र बनाउने तयारी गरेपनि जनताले यसमा आशा जगाउन सकेको छैन । यद्यपि, कांग्रेसले बनाउन लागेको घोषणापत्रले देशको सबै क्षेत्र, समुदायसहित सर्वाङ्गीन विकासको अवधारणा आममतदातामाझ ल्याउने महामन्त्री शर्माको दाबी छ ।
त्यस्तै, नेकपा एमालेले पनि घोषणापत्र निर्माणका लागि विज्ञ सहितको टिम बनाएको छ । वर्षेनी घोषणापत्र अनेक बुँदाहरु थपेपनि त्यसमा जनताले विश्वास भने गर्न सकेका छैनन् । त्यस्तै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि समाजवादको सपना देखाउँदै संयुक्त घोषणापत्र निर्माणको तयारीमा जुटेको छ । तरपनि, उक्त दलप्रति जनविश्वास बढेको देखिदैँन । त्यस्तै, बाँकी रहेका दल र स्वतन्त्रहरु प्नि विकास र समृद्धिको सपना देखाउँदै घोषणा पत्र निर्माणको तयारीमा जुटेका छन् । यद्यपि, उनीहरुबाट पनि जनताको सपना पूरा हुने अवस्था भने छैन । ‘अहिले सबै दलहरु घोषणापत्र बनाउने तयारीमा जुटेपनि उनीहरुबाट जनताको आशा पूरा हुने अवस्था भने छैन, अब दलहरु नसच्चिए जनताले नै विद्रोह गर्ने सम्भावना बढेको छ,’ राजनीतिक विश्लेषक डा. राजेश अहिराजले भने । उनले अहिलेको अवस्थामा परिवर्तनको आशा गर्न नसकिने प्रष्ट पारेका छन् ।
हुनपनि पछिल्लो समय विकास र परिवर्तनको अपेक्षा देखाएर दलहरु अघि बढेपनि जनमत भने राजनीति दलको घोषणापत्रमा विश्वास गर्ने छोडिसकेका छन् । यद्यपि, तिनै दललाई मत दिनुको विकल्प नरहेको उनीहरुको गुनासो छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies