
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । आवश्यक राष्ट्रिय मापदण्ड पूरा गरेपछि स्वास्थ्य केन्द्रले उक्त मान्यता प्राप्त गरेको हो ।
स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल नागरिकले आफ्नै गाउँमा सुरक्षित, गुणस्तरीय र भरपर्दो सेवा प्राप्त गर्न थालेपछि मात्र देखिने भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले यस घोषणाले ग्रामीण स्वास्थ्य सेवामा नयाँ उचाइ थपेको बताएका छन् । उनीहरूले सुरक्षित मातृत्व, नवजात शिशुको संरक्षण र बाल पोषण सुधारमा गाउँपालिकाले अवलम्बन गरेको नीति थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रले विगत केही वर्षदेखि संस्थागत प्रसूति बढाउने, गर्भवती तथा सुत्केरी महिलालाई नियमित स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, बालबालिकाको पोषण अवस्था सुधार गर्ने तथा स्वास्थ्य संस्थाको सेवा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ निरन्तर काम गर्दै आएको थियो । अब स्थानीय नागरिकले आफ्नै पालिकाभित्र सुरक्षित प्रसूति, नवजात शिशु उपचार, बाल स्वास्थ्य तथा पोषणसम्बन्धी सेवा अझ प्रभावकारी रूपमा प्राप्त गर्ने आधार बलियो बनेको छ ।
घोषणा समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले स्वास्थ्य क्षेत्रमा भएको सुधारले समग्र समाजको जीवनस्तर परिवर्तन गर्ने बताए । उनले यो उपलब्धि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको धारणा राखे ।
जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शर्मा ज्ञवालीले मातृ तथा शिशु स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताइन् । उनले पोषणमैत्री स्वास्थ्य संस्थाको अवधारणालाई व्यवहारमा सफल बनाउन स्थानीय तहको सक्रियता उदाहरणीय रहेको उल्लेख गरिन् ।
कार्यक्रमका अध्यक्ष तथा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वास्थ्य सेवा गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विस्तार, आधुनिक उपकरण, आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारमा गाउँपालिकाले निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा नागरिकलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.किरण भुसालले संस्थागत प्रसूति सेवा तथा पोषणमैत्री स्वास्थ्य संस्थाका सबै सूचक पूरा गरेपछि घोषणा सम्भव भएको जानकारी दिए । उनले यो घोषणा केवल सम्मान नभई सेवा प्रवाहलाई अझ जिम्मेवार, उत्तरदायी र नागरिककेन्द्रित बनाउने दायित्वसमेत भएको बताए ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल, वडा नं. २ का पूर्व अध्यक्ष राजेश पन्थी, नेपाली कांग्रेस महासमिति सदस्य पिताम्बर खनाल, नेकपा (एमाले)का प्रतिनिधि प्रकाश ज्ञवाली तथा नेपाल कम्युनिस्ट पार्टी छत्रदेवका प्रतिनिधि हसरदिन मियाँलगायतले स्वास्थ्य सेवा सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
स्वास्थ्य संस्थाका तर्फबाट कमल श्रेष्ठले स्वास्थ्य केन्द्रले प्रदान गरिरहेका सेवा, हालसम्मका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए। वडा नं. २ का अध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले सञ्चालन गरेका थिए। स्थानीय विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा महिला समूहहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पोषणमैत्री स्वास्थ्य संस्था घोषणासँगै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रले मातृ तथा शिशु स्वास्थ्य सुधार, संस्थागत प्रसूति दर वृद्धि, बाल पोषण प्रवर्धन र ग्रामीण स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । छत्रदेव गाउँपालिकाको यो पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ ।