२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारमा भूम्या पर्व मनाइने 

Nada
तिलु शर्मा पौडेल
२०८३ असार १८ गते २०:१६
Shares
कतारमा भूम्या पर्व मनाइने 

दोहा कतार : नेपाल मगर संघ, शाखा कतारले आफ्नो २६औं वार्षिकोत्सव, ११औं राष्ट्रिय मगर भेला तथा पाँचौं भूम्या कार्यक्रम–२०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ । मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम शुक्रबार बिहान ११ बजे देखि प्लाजा मलमा रहेको बेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने संघले जनाएको छ।

ncell

 संघको आयोजनामा तथा नेपाल मगर सांस्कृतिक परिवारको सह आयोजनामा हुने कार्यक्रममा कतारमा रहेका मगर समुदायका साथै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व भूम्या को विशेष महत्व उजागर गरिनुका साथै परम्परागत पूजा, सांस्कृतिक प्रस्तुति, मौलिक भेसभुसा, लोकगीत तथा नृत्यमार्फत मगर सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास गरिने संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए । 

भूम्या पर्वलाई प्रकृति, भूमि, वन, पानीका स्रोत तथा पुर्खाप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा लिइन्छ। यस अवसरमा सुख, शान्ति, समृद्धि, राम्रो वर्षा, उब्जनी र सामुदायिक एकताको कामना गर्दै सामूहिक रूपमा पूजा–आराधना गर्ने परम्परा रहेको छ। विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले यस कार्यक्रमलाई विशेष महत्वका साथ मनाइँदै आएको संघको भनाइ छ।

संघ शाखा कतारले कतारमा रहेका सम्पूर्ण मगर समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई भूम्या पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई अझ सशक्त बनाउन आग्रह गरेको छ। “सम्पूर्ण मगरहरूको एकता–अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले प्रवासमा मगर समुदायबिच आपसी सद्भाव, सांस्कृतिक एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खबर