
काठमाडौं : सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरतालगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गरेको हो ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउन र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।
यस अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालिका तथा वडा कार्यलयसँग समन्वय गरी करिब १०५० गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको बैंकले जनाएको छ ।
शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई तीन महिनाका लागि पुग्ने स्वास्थ्यवर्धक पौष्टिक खाद्यसामग्री वितरण गरिएको थियो । बैंकले भविष्यमा पनि समाजका लक्षितवर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।