
अर्घाखाँची : सरकारी अनुदान वितरणसँगै जिम्मेवारी पूरा भएको ठान्ने परम्परालाई अन्त्य गर्दै कृषि ज्ञान केन्द्र अर्घाखाँचीले किसानलाई उपलब्ध गराइएको अनुदानको वास्तविक प्रभाव खेतबारीमै पुगेर मूल्यांकन गर्न थालेको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णु मङराती, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, प्राविधिक शारदा आचार्यलगायतको टोलीले पाणिनी गाउँपालिकाका विभिन्न वडामा पुगेर किसानसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो ।
टोलीले कृषि ज्ञान केन्द्रको अनुदानमा सञ्चालन गरिएका फलफूल, तरकारी तथा अन्य नगदेबालीको स्थलगत अनुगमन गर्दै उत्पादनको अवस्था, कार्यक्रमको प्रभावकारिता तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा जिल्ला समन्वय प्रमुख कोइरालाले अनुदानको वास्तविक उपलब्धि किसानको खेतमै देखिनुपर्ने बताउँदै व्यावसायिक खेतीतर्फ लाग्न किसानलाई आग्रह गरे । उनले उत्पादनको सम्भावना, स्थानीय समस्या तथा आगामी सुधारका उपायबारे पनि किसानसँग छलफल गरेका थिए ।
स्थलगत अनुगमनमा सहभागी कृषि प्राविधिकहरूले किसानका समस्या सुन्दै नगदेबालीमा देखिने रोग व्यवस्थापन, आधुनिक खेती प्रविधि, मलखादको उचित प्रयोग, सिँचाइ व्यवस्थापन तथा बजारमुखी उत्पादनका विषयमा आवश्यक प्राविधिक सुझाव दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी लगानीको पारदर्शिता र उपलब्धिको मूल्यांकनका लागि यस्ता अनुगमन आवश्यक रहेको उल्लेख गर्दै अनुदान प्राप्त किसानले त्यसको सही सदुपयोग गर्नुपर्ने बताए ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले किसानको आवश्यकता अनुसार प्रविधि र प्राविधिक सहयोगलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै उत्पादन वृद्धिसँगै व्यावसायिक कृषि विस्तारमा जोड दिए। उनले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत अनुदानसँगै प्राविधिक सेवा पनि निरन्तर उपलब्ध गराइँदै आएको जानकारी दिए ।
अनुगमन टोलीको आगमनले किसान उत्साहित बनेका छन् । सरकारी अधिकारीहरू खेतबारीमै पुगेर समस्या सुन्ने र समाधानका उपाय खोज्ने अभ्यास सकारात्मक रहेको उनीहरूको भनाइ छ । यसले सरकारी कार्यक्रमप्रति किसानको विश्वास बढ्नुका साथै कृषि क्षेत्रलाई अझ उत्पादनमुखी र व्यावसायिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जिल्लाभर अनुदान कार्यक्रमको स्थलगत अनुगमनलाई निरन्तरता दिँदै आएको प्रमुख घिमिरेले जानकारी दिएका छन् ।