
दोहा (कतार) : नेपाल मगर संघ, शाखा कतारले आफ्नो २६औं स्थापना दिवस, ११औं राष्ट्रिय मगर भेला तथा पाँचौं भूम्या पर्व–२०२६ भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम शुक्रबार दोहास्थित प्लाजा मलमा रहेको बेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।
मगर समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, पहिचान तथा सामाजिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कतारमा रहेका मगरहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष समीर थापा मगरको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा परम्पराअनुसार भूम्या पूजा समेत गरिएको थियो ।

कार्यक्रममा महासंघमा आबद्ध तथा कतारमा स्थापित विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अगुवा, बुद्धिजीवी तथा मगर समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले भूम्या पर्व तथा संघको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै भूम्या पर्व मगर समुदायको प्रकृति, भूमि, कृषि संस्कार र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका थिए ।
वक्ताहरूले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित यस कार्यक्रमले कतारमा रहेका मगर समुदायबिच आपसी एकता, भाइचारा र सांस्कृतिक संरक्षणको भावनालाई थप सुदृढ बनाएको बताए ।

प्रमुख अतिथि श्रेष्ठले मगर समुदाय सधैं एकताको सूत्रमा बाँधिएर अघि बढेको समुदाय भएको उल्लेख गर्दै यही एकताले समुदायलाई अझ बलियो बनाएको बताए। उनले प्रवासमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनु सबैको साझा दायित्व भएको बताउँदै मौलिक भेसभुसामा ठुलो संखयामा उपस्थित समुदाय देख्दा अत्यन्त गर्व लागेको धारणा व्यक्त गरे ।
उनले प्रारम्भिक दिनमा कतारमा आफ्नो मौलिक पोसाकमा सार्वजनिक रूपमा उपस्थित हुन कठिनाइ रहेको स्मरण गर्दै अहिले ठुलो संख्यामा समुदाय आफ्नो संस्कृति र पहिचानसहित उपस्थित हुनु गर्वको विषय भएको बताए । सभाध्यक्ष थापा मगरले नेपाल सरकारले हालै भूम्या पर्वलाई सांस्कृतिक पर्वका रूपमा सूचीकृत गरेकोमा खुसी व्यक्त गरे । उनले यो निर्णयले मगर समुदायको सांस्कृतिक पहिचानलाई थप संस्थागत मान्यता दिएको उल्लेख गर्दै संस्थापक सदस्यदेखि वर्तमान कार्यसमितिसम्म सबैको योगदानको प्रशंसा गरे ।

सांस्कृतिक कार्यक्रममा मगर समुदायका मौलिक गीत, नृत्य तथा परम्परागत भूम्या नृत्य प्रस्तुत गरिएको थियो । दर्जनौं कलाकारहरूको प्रस्तुति तथा सहभागीहरूको सक्रिय सहभागिताले सभा हल पूर्ण रूपमा मगर संस्कृतिमय बनेको थियो । मौलिक भेसभूषा, सांस्कृतिक प्रस्तुति र उल्लेखनीय सहभागिताले कार्यक्रमलाई स्मरणीय बनाएको थियो । कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष तथा विशिष्ट अतिथिहरूलाई मगर संस्कृतिअनुसार फेटा लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघकी प्रथम उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने उपमहासचिव तथा कार्यक्रम संयोजक दीपक एक्वाइ मगरले कार्यक्रमको उद्देश्य तथा पर्वका बारेमा प्रकाश पारेका थिए । महासचिव पाण्डव थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रम सम्पन्न भएपछि सुरु भएको ११औं राष्ट्रिय मगर भेलामा संघले वर्षभर गरेका गतिविधि, प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।
