
रौतहट : जिल्लाको यमुनामाई गाउँपालिकामा स्थानीय स्तरमा न्याय सम्पादनलाई चुस्त दुरुस्त र विश्वसनीय बनाउने उद्देश्यका साथ तीन दिने विशेष तालिम सुरु भएको छ ।
यमुनामाई गाउँपालिका सरुअठा न्याय शाखाको आयोजनामा न्यायिक समितिको क्षमता अभिवृद्धि तथा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज शुक्रबार देखि विधिवत रूपमा सुरु भएको हो ।
गाउँपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम असार १९ गतेदेखि २१ गतेसम्म संचालन हुने आयोजकले जनाए । स्थानीय तहमा गठन भएका न्यायिक समिति र मेलमिलाप केन्द्रहरूलाई कानुनी र व्यावहारिक रूपमा परिपक्व बनाई गाउँघरका सानातिना विवादहरूलाई स्थानीय स्तरमै निरूपण गर्ने क्षमता विकास गर्नु यस तालिमको मुख्य लक्ष्य रहेको छ ।
गाउँपालिका अन्तर्गत रहेका वडा नम्बर १ देखि ५ सम्मका जनप्रतिनिधि, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, महिला, पुरुष तथा स्थानीय संचारकर्मीहरू सहित करिब १०० जनाको उत्साहजनक उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको छ। स्थानीय तहमा न्यायको पहुँच सर्वसाधारणसम्म पुर्याउन र न्यायिक प्रक्रियालाई पारदर्शी बनाउन यो तालिम निकै फलदायी हुने अपेक्षा सहभागिहरूले गरेका छन् ।
न्याय सम्पादनलाई निष्पक्ष बनाउन जोड
कार्यक्रमकी अध्यक्ष एवं यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष न्यायिक समिति संयोजक अनुराधा कुमारीले स्थानीय सरकार संचालन ऐन २०७४ ले न्यायिक समितिलाई दिएको अधिकार क्षेत्र र यसको गम्भीरताबारे प्रकाश पारिन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अनुराधा कुमारीले स्थानीय स्तरमा आउने विवादहरूलाई अदालतसम्म पुर्याउनु अघि आपसी सन्तुलन र मेलमिलापका माध्यमबाट टुंग्याउन सके समाजमा शान्ति र एकता कायम रहने बताइन् । उनले यो तालिमले न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरूको कानुनी ज्ञान र कार्यक्षमतामा उल्लेख्य सुधार ल्याउने बताइन् ।
उनले राजनीतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर न्यायिक समितिले नागरिकलाई निष्पक्ष र छिटो–छरितो न्याय दिनुपर्नेमा जोड दिइन् ।
तीन दिनसम्म चल्ने यस आधारभूत तालिममा कानुनी विज्ञ तथा प्रशिक्षकहरूले न्यायिक समितिको कार्यक्षेत्र, प्रमाण बुझ्ने तरिका, निर्णय लेखन, सामुदायिक मेलमिलापका सिद्धान्त, र मेलमिलापकर्तामा हुनुपर्ने गुणहरूका बारेमा प्रशिक्षण दिने न्याय शाखाले जनाए ।
खासगरी गाउँघरमा हुने साँध–सँधियारको विवाद, घरायसी झगडा, र सानातिना आर्थिक लेनदेन जस्ता मुद्दाहरूलाई मेलमिलापको नीति अनुसार दुवै पक्षको जीत–जीतको अवस्थामा कसरी टुङ्ग्याउने भन्नेबारे प्रयोगात्मक अभ्यास समेत गराइने बताइएको छ । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि स्थानीय न्यायिक निकायका गतिविधि र फैसलाहरूलाई नागरिक समक्ष सही रूपमा पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने प्रतिबद्धता जनाए ।