
रौतहट : रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहँदै आएका २१ जना प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूबाट परिचालन गरिएको विशेष टोलीले असार १९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अदालतको फैसला कार्यान्वयन गराउने तथा जिल्लामा शान्ति सुरक्षा चुस्त राख्ने विशेष अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले चेक अनादर , सवारी अङ्गभङ्ग, नागरिकता तथा कीर्ते मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराइ सकिएको छ ।
प्रहरीले दिएको विवरण अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी चेक अनादर मुद्दाका प्रतिवादीहरू रहेका छन् । चेक अनादर मुद्दामा फरार रहेका देवेन्द्र राउत बरै, राजकिशोर साह, रामनाथ सहनी, दिपेन्द्र प्रसाद पटेल, रामबाबु प्रसाद पटेल, शिवनाथ प्रसाद जयसवाल, धर्मेन्द्र कुमार दास र अमामुलदिन रहेका छन्, जसलाई जनही १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै ५ सय रुपैयाँ जरिवाना तोकिएका शुशील पटेल, राकेश पटेल, कमेश्वर प्रसाद महतो र विजेश पटेल पनि पक्राउ परेका छन् । त्यसैगरी १५ सय रुपैयाँ जरिवाना तोकिएका विन्देश्वर प्रसाद पटेल, १ हजार रुपैयाँ जरिवाना तोकिएका मनोज कुमार राउत र पुनित प्रसाद यादव तथा जयराम मुखिया समेत पक्राउ परेका छन् । चेक अनादर मुद्दाकै प्रतिवादी कृष्ण लामालाई अदालतले १ वर्ष कैद सजाय सुनाएको थियो भने विजेश पटेललाई ५ महिना २ दिन कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
प्रहरीका अनुसार सवारी अङ्गभङ्ग मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी प्रमोद कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी गम्भीर प्रकृतिको नागरिकता र कीर्ते मुद्दामा संलग्न रही फरार रहेका तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरूमा रंजिता कुमारी यादव २५ हजार जरिवाना , रुपेश राय ५ महिना २ दिन कैद र २५ हजार जरिवाना र प्रभुनन्दन प्रसाद यादव ६ महिना कैद र २५ हजार जरिवाना रहेका छन् ।
प्रहरीको यस विशेष कारबाहीबाट कुल २ वर्ष ४ महिना ४ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका र जम्मा ९४ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका फरार व्यक्तिहरू कानूनी दायरामा आएका छन् ।
जिल्लामा आपराधिक गतिविधि नियन्त्रण गर्न र अदालतको आदेश एवं फैसलालाई पूर्ण रूपमा कार्यान्वयन गराउन प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको र आगामी दिनमा पनि यस्ता फरार प्रतिवादी लक्षित अभियानलाई निरन्तरता दिइने सूचना अधिकारी डीएसपी बसन्त गौतमले जनाए ।