
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपालकै सबैभन्दा ठुलो अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को आयोजना गर्ने घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलन आयोजना गरेर नाइमाले दोस्रो संस्करणको एक्स्पो गर्न लागेको जानकारी गराएको हो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ । एक्पोमा ५१ वटा स्टल रहनेछन्, जसमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहने र ४० भन्दा बढी नयाँ सवारीसाधन लन्च गरिने नाइमाले जनाएको छ । एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यापारिक सवारीसाधन (कमर्सियल भेहिकल)का साथै विद्युतीय इभी र हाइब्रिड मोबिलिटीका साधन प्रदर्शनमा रहनेछन् ।
पत्रकार सम्मेलनमा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको यो संस्था हाल ३६ प्रमुख कम्पनीमा विस्तार भएको बताइन् । उनले यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा रहेको बताइन् ।
उनले नाइमाको दृष्टि एक्स्पोमा मात्र सीमित नभएर मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशिलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको बताइन् । अध्यक्ष वैद्यले एक्स्पोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप र तालिमका लागि छुट्याइने जानकारी दिइन् । यसअघि नाइमाले १६ सय १० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम र सरकारी निकायसँग सडक सुरक्षाका क्षेत्रमा सहकार्य गरिएको उनको भनाइ छ ।
‘नाइमा अटो सो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई अझै परिष्कृत गर्दै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ थप व्यवस्थित, सहज, आगन्तुकमैत्री बताउने बताए । उनले निःशुल्क लर्निङ सेसन नेपाल पुलिस क्लबको अडिटोरियम हलमा हुने जसमा मोबिलिटी, सडक सुरक्षा र प्रविधिका छलफल हुने जानकारी दिए । नाइमा बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यस्ता प्रदर्शनीले लगानी र रोजगारी सिर्जनामा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।