२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सीपले बदलिँदै गाउँको भविष्य

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असार २३ गते २१:१७
Shares
सीपले बदलिँदै गाउँको भविष्य

अर्घाखाँची : ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवायुवतीलाई आफ्नै गाउँमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ बलेवाङमा एक महिने सेरामिक्स (माटाका भाँडा तथा हस्तकला सामग्री निर्माण) सीपमूलक तालिम सम्पन्न भएको छ ।

ncell

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहयोग तथा सन्धिखर्क नगरपालिका–५ को समन्वयमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरण, आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्दै यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तह र सम्बन्धित निकायले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले कार्यालयले उत्पादनमुखी तथा आयआर्जनसँग प्रत्यक्ष जोडिएका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै हजारौं युवायुवतीलाई तालिम प्रदान गरिएको र अधिकांश सहभागी रोजगारी तथा उद्यममा आबद्ध भएको बताइन् । उनले सेरामिक्स कला सम्भावना बोकेको उद्यमका रूपमा विकसित भइरहेको उल्लेख गर्दै तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके सहभागीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै स्थानीय उत्पादनले बजारसमेत पाउने विश्वास व्यक्त गरिन्। साथै उद्यम विकास, परामर्श तथा आवश्यक सहयोगका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाइन् ।

सन्धिखर्क नगरपालिका–५ का कार्यबाहक वडाध्यक्ष बसन्ता कुमालले स्थानीय नागरिक, विशेषगरी कुमाल समुदाय तथा युवायुवतीलाई आफ्नै गाउँमा व्यावसायिक सीप प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिइन् । 

एक महिनासम्म सञ्चालन भएको तालिममा सहभागीहरूले सेरामिक्स सामग्री निर्माण, आकर्षक डिजाइन, रङ संयोजन, फिनिसिङ, गुणस्तर व्यवस्थापन तथा व्यावसायिक उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरेका छन् ।  यसबाट स्थानीय स्तरमा हस्तकलामूलक उत्पादन वृद्धि, घरेलु उद्योग प्रवर्धन तथा नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै आधुनिक प्रविधिसहित थप उन्नत तालिम, आवश्यक उपकरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

समापन कार्यक्रममा वडा सदस्य कृष्ण भुसाल, जनप्रतिनिधि, समाजसेवी, पत्रकार, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी, प्रशिक्षक तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सूचना अधिकारी हुमबहादुर विकले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर