
जयपुर, भारत : भारतको जयपुरमा एक २३ वर्षीया युवतीले सरकारी जागिर र सम्पत्तिको लोभमा आफ्नै आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ । अभियुक्त छोरीले यस हत्यालाई सडक दुर्घटनाको रूप दिन खोजे पनि प्रहरी अनुसन्धानबाट यो एक योजनाबद्ध हत्या (कन्ट्र्याक्ट किलिङ) भएको खुलासा भएको हो ।
गत जुलाई ३ का दिन जयपुरको प्रताप नगरमा ४५ वर्षीया नीरज शर्माको तीव्र गतिमा आएको स्कोर्पियो गाडीको ठक्करबाट मृत्यु भएको थियो । करिब १३० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको उक्त गाडीले ठक्कर दिँदा उनी घटनास्थलबाट १०० फिट टाढा उछिट्टिएकी थिइन् । सुरुमा यो एक सामान्य सडक दुर्घटना जस्तो देखिए पनि मृतकका दाजु राकेशले आफ्नी भान्जी आयुषी शर्मा र अन्य आफन्तमाथि शंका गर्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरी अनुसन्धानका अनुसार मृतक नीरज शर्माका श्रीमानको एक वर्षअघि मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि नीरजले अनुकम्पाका आधारमा अदालतमा खरिदारको जागिर पाएकी थिइन् । अभियुक्त छोरी आयुषीले सो जागिर आफूले पाउनुपर्ने माग गर्दै आएकी थिइन्, तर आमा आफैंले जागिर खाएपछि उनीहरूबीच तनाव सुरु भएको थियो । साथै, विगत दुई-तीन वर्षदेखि आमा-छोरीबीच सम्पत्तिको विषयमा पनि विवाद चल्दै आएको थियो ।
आयुषीले आफ्ना काका मोहन स्वरूप र भाइ बलरामसँग मिलेर आमाको हत्या गर्ने षड्यन्त्र बुनेकी थिइन् । उनीहरूले ७ लाख भारुमा हत्यारा भाडामा लिएर यो काम फत्ते गर्ने सम्झौता गरेका थिए । हत्या गर्नुअघि उनीहरूले धेरै दिनसम्म नीरजको पिछा गरेका थिए । घटनाको दिन अभियुक्तहरूले भाडाको स्कोर्पियो प्रयोग गरी नीरजलाई ठक्कर दिएर फरार भएका थिए ।
प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेज र कल डिटेल रेकर्डको आधारमा अनुसन्धान गर्दा यो दुर्घटना नभई पूर्वयोजनाबद्ध हत्या भएको पुष्टि भएको हो ।
प्रहरीले यस प्रकरणमा मुख्य अभियुक्त आयुषी शर्मासहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनका काका, भाडाका हत्यारा र सहयोगीहरू रहेका छन् । घटनाका मुख्य योजनाकारमध्ये एक रहेका आयुषीका भाइ बलराम भने अझै फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।