२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

इरानी आक्रमणपछि कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता

कुवेतमा एक जना घाइते

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २५ गते १६:१७
Shares
इरानी आक्रमणपछि कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता

दोहा कतार : इरानबाट भएको पछिल्लो मिसाइल तथा ड्रोन आक्रमणपछि खाडी क्षेत्रका कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तीनै देशका सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् भने कुवेतमा एक जना घाइते भएको पुष्टि भएको छ ।

ncell

कतारका अधिकारीहरूले बिहीबार बिहान करिब ४ बजे मोबाइल फोनमार्फत आपत्कालीन सुरक्षा सन्देश पठाउँदै नागरिक तथा बासिन्दालाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका थिए । केही समयपछि अर्को सन्देश जारी गर्दै तत्कालको खतरा टरेको जानकारी दिइयो र सर्वसाधारणलाई आफ्नो नियमित गतिविधि पुनः सञ्चालन गर्न सकिने जनाइएको थियो ।

यस्तै, बहराइनको राजधानी मनामामा पनि रातिको इरानी आक्रमणपछि तेस्रो पटक हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो । एएफपीका संवाददाताले मनामामा विस्फोटका आवाज सुनेको जनाएका छन् । बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिक तथा बासिन्दालाई शान्त रहन र आफू नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

उता, कुवेतको रक्षा मन्त्रालयले इरानी आक्रमणका क्रममा देशको हवाई प्रतिरक्षा प्रणालीले चार वटा मिसाइल र १० वटा ड्रोनलाई सफलतापूर्वक अवरोध गरी निष्क्रिय पारेको जनाएको छ । मन्त्रालयका प्रवक्ता कर्नेल स्टाफ साउद अब्दुलअजिज अल-अतवानका अनुसार आक्रमणका क्रममा कम्तीमा एक जना घाइते भएका छन् । घाइतेको आवश्यक उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतको रक्षा मन्त्रालयले सर्वसाधारणले सुनेका विस्फोटका आवाजहरू हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोनलाई अवरोध गर्ने क्रममा उत्पन्न भएको स्पष्ट पार्दै सबैलाई सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

इरानसँगको बढ्दो तनावका कारण खाडी क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ भने अवस्थाको निरन्तर निगरानी भइरहेको सम्बन्धित देशहरूले जनाएका छन् ।

सम्बन्धित खबर