२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सीपमा केन्द्रित एनआरएनए कतारको तालिम

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २६ गते १७:०८
Shares
सीपमा केन्द्रित एनआरएनए कतारको तालिम

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारको समन्वय तथा क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीको सहकार्यमा आयोजित ‘सेल्स एन्ड मर्चेन्डाइजर ट्रेनिङ’मा सहभागीलाई व्यावसायिक सीपसँगै जीवनमा आवश्यक पर्ने व्यवहारिक ज्ञानसमेत प्रदान गरिएको छ ।

ncell

शुक्रबार बिहान ओल्ड एयरपोर्टस्थित अल मातार सेन्टरमा रहेको क्यूएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीको हलमा करिब चार घण्टा सञ्चालन भएको तालिममा ३५ जना नेपाली सहभागी भएका थिए। भारतका प्रशिक्षक सबिर अहमद लोनले प्रशिक्षण दिएका थिए । प्रशिक्षक लोनले तालिम केवल सेल्स र मर्चेन्डाइजिङमा मात्र सीमित नभई जागिरे जीवनबाट व्यावसायिक यात्रातर्फ कसरी अघि बढ्ने, व्यवसाय तथा उत्पादनको प्रभावकारी मार्केटिङ कसरी गर्ने, आफ्नो क्षमता कसरी विकास गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

उनले सामान्य कामदारले समेत आफ्नो सीप र दक्षता विकास गर्दै कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताउँदै आत्मविश्वासका साथ प्रस्तुत हुने, दुई–चार जनाको अगाडि उभिएर बोल्ने क्षमता विकास गर्ने, सकारात्मक सोच राख्ने तथा आफूलाई निरन्तर सुधार गर्दै लैजानुपर्ने विषयमा जोड दिए ।

“जीवनमा सफल हुन केवल काम गर्नु मात्र पर्याप्त हुँदैन, आफूलाई समयअनुसार अपडेट गर्दै नयाँ कुरा सिक्ने बानी पनि आवश्यक हुन्छ,” प्रशिक्षक लोनले भने । उनले आफूले लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै नेपाली समुदायलाई आफ्नो अनुभव बाँड्न पाउँदा खुसी लागेको बताए ।

उनले कुनै पनि विषयमा थप ज्ञान वा प्रशिक्षण लिन चाहने व्यक्तिले क्यूएसटीमार्फत विभिन्न प्रकारका तालिम लिन सक्ने जानकारी दिँदै केही तालिम निःशुल्क, केही सशुल्क तथा केही विशेष छुटसहित सञ्चालन हुने बताए । उनले यस अवसरका लागि एनआरएनए एनसीसी कतार र क्यूएसटीलाई धन्यवादसमेत व्यक्त गरे ।

यसै गरी क्यूएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीकी सञ्चालिका तथा  एनसीसी कतारकी सल्लाहकार यास्मिन नाजले नेपाली समुदायलाई सीपयुक्त र सक्षम बनाउने उद्देश्यले क्यूएसटीले विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

उनले नेपाली समुदायका धेरै सदस्य सामाजिक सञ्जाल र मनोरञ्जनमा बढी समय खर्च गर्ने तर व्यक्तिगत विकास, सीप अभिवृद्धि र भविष्य निर्माणका लागि आवश्यक पक्षमा पर्याप्त ध्यान नदिने गरेकोप्रति चिन्ता व्यक्त गरिन् । “आफूलाई अझ राम्रो बनाउन, आफ्नो क्षमता बढाउन र भविष्यलाई मजबुत बनाउन सबैले कम्तीमा एक पटक क्यूएसटी भ्रमण गरी उपलब्ध तालिम र सेवाबारे जानकारी लिनुपर्छ,” उनले भनिन् ।

नाजले जागिरमा राम्रो गर्न, व्यवसायमा सफल हुन तथा व्यक्तिगत विकासका लागि आवश्यक पर्ने विभिन्न तालिम क्युएसटीमार्फत उपलब्ध रहेको जानकारी दिँदै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अवसरको सदुपयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले आफ्नो उद्देश्य नेपाली समुदायलाई आत्मनिर्भर, दक्ष र सक्षम बनाउनु रहेको बताए। उनले रोजगारीको प्रतिस्पर्धी बजारमा आवश्यक सीप प्रदान गर्दै नेपालीको राम्रो भविष्य निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

संघका तर्फबाट बोल्दै पन्थिले नेपाली समुदायको आवश्यकता र वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी तालिमहरू कुन–कुन विषयमा केन्द्रित गर्दा बढी उपयोगी हुन्छ भन्ने विषयमा सुझाव दिन आग्रह गरे । नेपाली समुदायको सीप, क्षमता र व्यक्तित्व विकाससँगै रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक तालिमहरू निरन्तर आयोजना गरिने बताउँदै समुदायको उत्थान र हितका लागि संघ सधैं प्रतिबद्ध रहेको पन्थिले उल्लेख गरे ।

तालिममा सहभागीहरूले पनि कार्यक्रम निकै प्रभावकारी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले सामान्य औपचारिक कार्यक्रमभन्दा फरक रूपमा व्यक्तिगत क्षमता, प्रस्तुति कला, आत्मविश्वास र व्यावसायिक विकासमा केन्द्रित तालिम उपयोगी भएको बताए ।

एनसिसी कतारले कतारमा कार्यरत नेपालीको सीप विकास, रोजगारी क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई तालिममा सक्रिय सहभागिता जनाई ज्ञान, सीप र क्षमता अभिवृद्धिमा योगदान पुर्‍याएका सहभागीहरूको उत्साह र प्रतिबद्धताको कदर गर्दै प्रमाणपत्र वितरण गरिएको हो ।

सम्बन्धित खबर