
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–८, सल्लेरीमा निर्माण हुन लागेको ‘होटल शुभ होलिडे इन प्रा.लि.’ को शिलान्यास गरिएको छ ।
करिब ३५ करोड रुपैयाँ लगानीमा निर्माण हुने उक्त होटललाई रारा क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै होटलका सञ्चालक भुपेन्द्रबहादुर शाहीले रारा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले गुणस्तरीय आवास र आतिथ्य सेवामा भोग्दै आएका समस्यालाई समाधान गर्ने उद्देश्यले सुविधा सम्पन्न होटल निर्माण गर्न लागिएको बताए । आधुनिक सुविधा, आरामदायी आवास र पर्यटकमैत्री सेवासहित होटललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनको भनाइ थियो ।
होटलका अध्यक्ष युद्धविक्रम शाहीका अनुसार होटलमा आधुनिक कोठा, पारिवारिक आवास, सम्मेलन तथा बैठक हल, उत्कृष्ट भोजन सेवा, पार्किङ, मनोरञ्जनलगायत आवश्यक सुविधा उपलब्ध गराइनेछ । होटल सञ्चालनमा आएपछि रारा आउने पर्यटकको बसाइ सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र मुगुको पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले निजी क्षेत्रको यस्तो लगानीले रारा क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने शुभकामना दिएका थिए ।
विश्वप्रसिद्ध रारा क्षेत्रको पर्यटन पूर्वाधार सुदृढ बनाउन निर्माण हुन लागेको यस होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई स्तरीय सेवा प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्र र कर्णाली प्रदेशको पर्यटन विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।