२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सद्भाव युवा समाज कतारको १८औं वार्षिक साधारण सभा सम्पन्न

सामाजिक सेवालाई थप विस्तार गर्ने घोषणा

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २७ गते २०:४४
Shares
सद्भाव युवा समाज कतारको १८औं वार्षिक साधारण सभा सम्पन्न

दोहा कतार : कतार एयरवेजमा कार्यरत नेपाली युवाद्वारा स्थापित सद्भाव युवा समाज कतारको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

ncell

सामाजिक सद्भाव, मानव सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय संस्थाले शुक्रबार साँझ दोहास्थित प्याराडाइज रेस्टुरेन्टको सभा हलमा आयोजना गरेको साधारण सभा संस्थाका अध्यक्ष विजय गुरुङको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

महासचिव चित्र गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार संस्थाले गत वर्ष शिक्षा, स्वास्थ्य, विपद् राहत तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । इलामका बाढी पहिरो प्रभावितलाई तीन हजार कतारी रियाल राहत प्रदान गर्नुका साथै विभिन्न बिरामीलाई उपचार सहयोग गरिएको जानकारी दिइयो। स्याङ्जा र कञ्चनपुरका विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रतिवेदन अनुसार संस्थाको कुल आम्दानी ६७ हजार ५६१ कतारी रियाल, खर्च ५६ हजार ६१८ कतारी रियाल र मौज्दात १० हजार ९४३ कतारी रियाल रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा कतारमा स्थापित संघ–संस्थाका सीमित अतिथि तथा वक्ताहरूको मात्र उपस्थिति रहेको थियो । आयोजकले कार्यक्रमलाई व्यवस्थित बनाउँदै सबै वक्ताहरूलाई समयको उचित सम्मान गर्दै आ–आफ्ना धारणा राख्ने अवसर प्रदान गरेका थिए भने वक्ताले संस्थाले स्थापना कालदेखि नेपालका विभिन्न जिल्लामा पु¥याएको सामाजिक योगदानको प्रशंसा गरेका थिए । 

स्वागत नृत्य, कविता वाचन तथा सांगीतिक प्रस्तुति पनि गरिएको कार्यक्रममा मुखको क्यान्सरबाट पीडित वसन्त चौधरीलाई एक हजार आठ कतारी रियाल आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई पारिश्रमिकसहित सम्मान पत्र प्रदान गरिनुका साथै मन्तव्य राख्ने सम्पूर्ण आमन्त्रित पाहुना तथा अतिथिहरूलाई मन्तव्य लगत्तै सम्मान गरिएको थियो । साथै समाजले आयोजना गरेका कार्यविधिहरूलाई सञ्चारको माध्यमबाट सहयोग पु¥याउने पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो । 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पन्थीले निःस्वार्थ समाजसेवा, पारदर्शिता, अनुशासन र मानवीय सेवाप्रतिको संस्थाको समर्पणको उच्च प्रशंसा गर्दै सामाजिक अभियन्ताहरूलाई खुट्टा तान्ने होइन, सहकार्य र एकताका साथ समाजसेवामा लाग्न आग्रह गरे । 

उनले संस्थाले सुरु गरेको पवित्र मानवीय अभियान आगामी दिनमा अझ सशक्त बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै संस्थाका हरेक सामाजिक कार्यमा आफ्नो निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा तमु गुरुङ समाज कतारले सभाध्यक्ष गुरुङलाई परम्परागत क्रेगी (फेटा) ओढाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेको थियो। गुरुङ समाजले आयोजकप्रति आत्मीयता र सद्भाव प्रकट गर्दै उपहार प्रदान गरेका थिए भने आयोजक पक्षले पनि तमु समाजका चेलीबेटीहरूलाई सम्मान स्वरूप कोसेली प्रदान गर्दै हार्दिक धन्यवादसहित बिदाइ गरेको थियो । उक्त आदान–प्रदानले कार्यक्रमलाई अझ आत्मीय र सौहार्दपूर्ण बनाएको थियो । 

समापनका क्रममा सभाध्यक्ष गुरुङले संस्थाका सदस्यहरूको गृहजिल्लास्थित विद्यालयमा क्रमशः एक लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने दीर्घकालीन योजना अघि बढाइने घोषणा गरे । उनले संस्थालाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सदस्यता कार्डको सुरुवात गरिने जानकारी दिँदै आगामी नेतृत्वसँग सहकार्य गर्दै सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए । 

कार्यक्रममा सद्भावका संस्थापक सदस्य पूर्णबहादुर मगरले संस्थाको स्थापना उद्देश्य, विगतको यात्रा तथा हालसम्म संस्थाले गर्दै आएका सामाजिक गतिविधिबारे जानकारी गराएका थिए । उनले संस्थाको विकासमा योगदान पुर्‍याउने अग्रज तथा सदस्यहरूको भूमिकाको समेत चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव गुरुङ र सचिव नवीन अर्यालले संयुक्त रूपमा गरेका थिए । उनीहरूले कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सहज रूपमा सञ्चालन गर्दै सम्पूर्ण गतिविधिलाई समन्वय गरेका थिए ।

सम्बन्धित खबर