२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अन्तर्राष्ट्रिय अपराधमा संलग्न पाकिस्तानी नागरिक कतारबाट पक्राउ, अमेरिकालाई बुझाइयो

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २७ गते २०:४६
Shares
अन्तर्राष्ट्रिय अपराधमा संलग्न पाकिस्तानी नागरिक कतारबाट पक्राउ, अमेरिकालाई बुझाइयो

दोहा : कतारले अन्तर्राष्ट्रिय सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेका एक पाकिस्तानी नागरिकलाई संयुक्त सुरक्षा कारबाहीमार्फत पक्राउ गरी अमेरिकालाई जिम्मा दिएको छ ।

ncell

कतारको गृह मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिअनुसार गृह मन्त्रालय, आन्तरिक सुरक्षा बल (लेख्विया), अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) बिचको समन्वयमा सञ्चालन गरिएको संयुक्त कारबाहीमा ती व्यक्ति पक्राउ परेका हुन् ।

यसैबिच, संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयअन्तर्गतको संयुक्त राज्यका अधिवक्ताको कार्यालय (टेक्सासको पूर्वी जिल्ला) ले पक्राउ परेका व्यक्ति २८ वर्षीय पाकिस्तानी नागरिक अब्दुल्लाह अनवर रहेको पुष्टि गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार अनवरमाथि एक अर्ब अमेरिकी डलरभन्दा बढीको ठगी, चोरीको सम्पत्ति ओसारपसार, हुलाक तथा विद्युतीय माध्यमबाट ठगी तथा सम्पत्ति शुद्धीकरणलगायत अन्तर्राष्ट्रिय सङ्गठित अपराधसँग सम्बन्धित गम्भीर अभियोग लागेका छन् । उनी विरुद्ध अमेरिकामा मुद्दा दायर भइसकेपछि पाकिस्तान फरार भएका थिए ।

कतारमा पक्राउ परेका अनवरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सार्वजनिक अभियोजन कार्यालयमा उपस्थित गराइएको थियो । त्यसपछि लागू राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाअनुसार अमेरिकी अनुसन्धान निकायको अनुरोधमा टेक्सासस्थित सम्बन्धित अमेरिकी अधिकारीलाई जिम्मा लगाइएको कतारको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार उक्त कारबाही अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, कानुनी समन्वय तथा अन्तर देशीय अपराध नियन्त्रणमा कतारको प्रतिबद्धताको महत्त्वपूर्ण उदाहरण हो । मन्त्रालयले यस कारबाहीले अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई थप सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय सङ्गठित अपराध नियन्त्रणमा विश्वसनीय साझेदारका रूपमा कतारको भूमिकालाई पुनः पुष्टि गरेको उल्लेख गरेको छ ।

मन्त्रालयले राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा लागू कानुनी संयन्त्रको पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय सङ्गठित अपराध नियन्त्रणका लागि मित्रराष्ट्रहरूसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने स्पष्ट पारेको छ ।

सम्बन्धित खबर