२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारका ‘फादर अमिर’ शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २८ गते १२:०२
Shares
कतारका ‘फादर अमिर’ शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

दोहा : कतारका पूर्व अमिर तथा आधुनिक कतारका प्रमुख शिल्पकार मानिने शेख हमद बिन खलीफा अल थानी को ७४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । कतारको अमिरी दिवानले आइतबार जारी गरेको शोक विज्ञप्तिमा राष्ट्रले आफ्ना महान् नेता तथा फादर अमिरलाई गुमाएको उल्लेख गरेको छ । दिवानले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै खलिफा प्रति गहिरो शोक व्यक्त गरेको छ ।

ncell

सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका शेख हमदलाई आधुनिक कतारको विकासका मुख्य योजनाकारका रूपमा चिनिन्छ । उनको नेतृत्वमा प्राकृतिक ग्यास र ऊर्जाबाट प्राप्त आम्दानीलाई प्रभावकारी रूपमा उपयोग गर्दै कतारले अभूतपूर्व आर्थिक समृद्धि हासिल गरेको थियो । यही अवधिमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा अन्तर्राष्ट्रिय कूटनीतिमा उल्लेखनीय फड्को मार्दै कतार विश्व समुदायमा प्रभावशाली राष्ट्रका रूपमा स्थापित भएको थियो ।

शेख हमदको शासनकालमा कतारले विश्वव्यापी सञ्चार माध्यम अल जजीराको स्थापना सन् १९९६ मा भएको  थियो । जसले मध्यपूर्व र विश्व पत्रकारितामा नयाँ आयाम थपेको मानिन्छ । त्यस्तै, सन् २००४ मा कतारको पहिलो स्थायी संविधान जारी गरिएको थियो भने स्थानीय तहको निर्वाचन प्रणाली लागू गरी महिलालाई मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार सुनिश्चित गरिएको थियो । यी कदमलाई कतारको राजनीतिक तथा प्रशासनिक आधुनिकीकरणका महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ ।

उनको नेतृत्वमा कतारले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिमा पनि उल्लेखनीय प्रभाव विस्तार गरेको थियो । मध्यपूर्व, उत्तर अफ्रिका र एसियाका विभिन्न शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय पहलमा कतार सक्रिय मध्यस्थकर्ताका रूपमा उभिन सफल भयो । शेख हमदको दूरदर्शी नेतृत्वकै परिणामस्वरूप कतारले सन् २०२२ को फिफा विश्वकप फुटबल आयोजना गर्ने ऐतिहासिक अवसर प्राप्त गरेको थियो । विश्वकै सबैभन्दा ठुलो खेल महोत्सव सफलतापूर्वक सम्पन्न भएपछि कतारको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ सुदृढ बनेको थियो। उद्घाटन खेलका क्रममा उपस्थित दर्शकहरूले उहाँलाई लामो समयसम्म ताली बजाएर सम्मान व्यक्त गरेका थिए  ।

सन् २०१३ मा शेख हमदले आफ्ना ३३ वर्षीय छोरा शेख तमिम बिन हमाद अल थानीलाई स्वेच्छाले सत्ता हस्तान्तरण गरेका थिए । वंशाणुगत खाडी मुलुकका शासकले स्वेच्छाले शासन हस्तान्तरण गरेको यो दुर्लभ उदाहरण मानिन्छ । त्यसयता कतारको नेतृत्व अमिर शेख तमिमले सम्हाल्दै आएका छन् ।

कतारको मरुभूमिलाई विश्वकै समृद्ध, आधुनिक र प्रभावशाली राष्ट्रमध्ये एकमा रूपान्तरण गर्ने दूरदर्शी नेताका रूपमा शेख हमदको योगदानलाई इतिहासले सधैं स्मरण गर्ने विश्वास व्यक्त गरिएको छ । उनको निधनसँगै कतारले राष्ट्रनिर्माणका एक युग पुरुषलाई गुमाएको छ ।

सम्बन्धित खबर