
दोहा कतार : इरानले आइतबार बिहान कतारलाई लक्षित गर्दै प्रहार गरेका ब्यालिस्टिक मिसाइलहरू कतारी सशस्त्र बलले सफलतापूर्वक अवरोध गरी निष्क्रिय पारेको छ । आक्रमणपछि खसेका मिसाइलका भग्नावशेषका कारण एक बालकसहित तीन जना सामान्य घाइते भएको कतारको गृह मन्त्रालयले जनाएको छ ।
कतारको रक्षा मन्त्रालयका अनुसार देशतर्फ लक्षित गरी प्रहार गरिएका धेरै ब्यालिस्टिक मिसाइलहरू वायु प्रतिरक्षा प्रणालीमार्फत बिचमै अवरोध गरिएको थियो । यद्यपि, अवरोध गरिएका मिसाइलका भग्नावशेष विभिन्न स्थानमा खस्दा एक बालकसहित तीन जना घाइते भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रमण लगत्तै आपत्कालीन योजनाअनुसार सुरक्षा निकाय तथा नागरिक सुरक्षा (सिभिल डिफेन्स) टोलीहरू तत्काल परिचालन गरिएको उल्लेख छ। सम्बन्धित निकायहरूले घटनास्थलको सुरक्षा, जोखिम नियन्त्रण तथा आवश्यक उद्धार तथा समन्वयका कार्यहरू तत्काल सुरु गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले राष्ट्रिय सार्वजनिक सुरक्षा तथा आपत्कालीन चेतावनी प्रणाली आवश्यकता परेमा मात्र सक्रिय गरिने स्पष्ट गर्दै सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्रै सूचना लिन आग्रह गरेको छ। अपुष्ट समाचार, हल्ला, तस्बिर वा भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण नगर्न चेतावनी दिँदै त्यस्तो कार्य कानुनी कारबाहीको विषय बन्न सक्ने जनाएको छ ।
गृह मन्त्रालयले देशभरका सुरक्षा निकायहरू २४सै घण्टा उच्च सतर्कताका साथ परिचालित रहेको, नागरिकको सुरक्षा सुनिश्चित गरिएको तथा सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन भइरहेको पनि जनाएको छ ।